दाङमा प्लाई उद्योग भीषण आगलागी, ३० घर जोखिममा
ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको र त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको प्रहरीले जनाएको छ।
दाङ, चैत ११ : घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौ रुपैयाँको क्षति भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा परेका छन्।
ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको र त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको प्रहरीले जनाएको छ।
आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ।

उद्योगमा गएराति २ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन। अहिले घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ।
आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन्।












