Kathmandu Press

महायज्ञको नाममा दलितको घरमा डोजर चलाउने पालिका अध्यक्षसहित तीन जनाविरुद्ध जाहेरी

पालिका अध्यक्ष यादवसहित वडा नम्बर ५ का पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाविरुद्ध जाहेरी परेको हो।
महायज्ञको नाममा दलितको घरमा डोजर चलाउने पालिका अध्यक्षसहित तीन जनाविरुद्ध जाहेरी

सिरहा, चैत ९ : सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञको नाममा दलित घर डोजर लगाएर भत्काइएको प्रकरणमा तीनविरुद्ध प्रहरीमा जाहेरी परेको छ।

शनिबार पीडित दीपक मरिक (डोम)ले गाउँपालिका अध्यक्ष शिवजी यादवसहित तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिराहामा जातीय विभेद तथा छुवाछुत कसुरमा जाहेरी दिएका हुन्। 

पालिका अध्यक्ष यादवसहित वडा नम्बर ५ का पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाविरुद्ध जाहेरी परेको हो।

जाहेरी दिन दीपक मरिकसहित दलित अगुवाहरू जिल्ला प्रहरी कार्यालय सिराहा पुगेका थिए।

अध्यक्ष यादव र पूर्ववडाध्यक्षलाई शुक्रबार नै प्रहरीले पक्राउ गरेको थियो।

जाहेरी परेपछि कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ। 

पाकिलका अध्यक्ष यादव पक्राउ परेपछि उनका छोरासहितको समूहले शुक्रबार राति नै डोम परिवारलाई बयान फेर्न दबाब दिँदै धम्क्याएका थिए। शिवजीका छोरा रुकेश यादव लगायत करिब १५–२० जनाको समूहले  प्रहरीमा गएर बयान नफेरे यहाँबाट पनि लखेटिदिन्छौं भन्दै धम्क्याएका थिए। 

महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ का दीपकको घर भत्काइएको थियो। आयोजक बजरंगी बाबाले महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै दीपकको घर भत्काउन आदेश दिएका थिए। 

घरमा डोजर लडाएपछि दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालिएको थियो। 

डोजर लगाएर भत्काइएको घर ५ वर्षअघि ‘जनता आवास कार्यक्रम’ अन्तर्गत गाउँपालिकाकै समन्वयमा बनाइएको थियो।


 

प्रकाशित मिति: २०:५४ बजे, शनिबार, चैत ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्