पिएम कपमा विभागीय टिम आर्मी र एपिएफ विजयी
लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शुक्रबार दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब विजयी भएका छन्।
रूपन्देही, चैत ८ : लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शुक्रबार दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब विजयी भएका छन्।
शुक्रबार दाङको देउखुरीमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो। यो उसको प्रतियोगितामा छैठौं जित हो।
११७ रनको समान्य लक्ष्य आर्मीले २६.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। उसका लािग ओपनर तृतराज दासले सर्वाधिक ३७ रन बनाउँदा बासिर अहमदले नटआउट ३२ रन बनाए।
बलिङमा गण्डकीका चन्द्र पौडेल, सुबास भण्डारी, बिपिन खत्री र सुदिप अर्यालले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको गण्डकी ३०.३ ओभरमा ११६ रनमा अलआउट भएको थियो। उसका अर्जुन कुमालले ३३ रन बनाउँदा दीपक डुम्रेले १९ तथा कमल परियारले १७ र कप्तान बिपिन खत्रीले १५ रन बनाए। अन्यको ब्याट भने चल्न सकेन।
गण्डकीको इनिङ धरासायी बनाउने क्रममा आर्मीका शाहब आलमले १० ओभरमा ४२ रन खर्चेर ५ विकेट लिए भने कुशल मल्ल र नरेन साउदले समान २ विकेट लिए।
७ खेल खेल्दा ६ खेल जितेको आर्मी १२ अंक सहित दोस्रो स्थानमा छ। ऊ एकमात्र खेलमा मधेशसँग पराजित भएको छ। यता, गण्डकी भने समान खेलबाट २ जित मात्र फाइनल होडबाट बाहिरिसकेको छ।
यस्तै, अर्को खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशमाथि ३ विकेटको जित निकाल्यो। सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा १९२ रनको मध्यम लक्ष्य एपिएफले ७ विकेटको क्षतिमा ३६.३ ओभरमा भेट्टायो।
उसका लागि सन्दीप जोराले अर्धशतकीय योगदान दिए। उनले ६८ बलमा ५ चौका र प्रहार गर्दै ५१ रन बनाए। यस्तै, आसिफ सेखले ३२, लोकेश बमले १९ र दीपक बोहराले १६ रन बनाए। प्रतियोगितामा चल्न नसकेका कप्तान रोहितकुमार पौडेलले १४ रन मात्र बनाउन सके।
बलिङमा सुदूरपश्चिमका शेर मल्ल, विकास अग्री र नारायण जोशीले समान २ विकेट लिएर
त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ४८.५ ओभरमा अलआउट हुँदै १९१ रन बनाएको थियो। उसका निश्चल खत्रीले ९२ बलमा ८ चौका र १ छक्का मद्दतमा ५७ रन बनाउँदा प्रकाश पाण्डेले ७२ बलमा ४२ रन बनाए। अन्यले भने गतिलो योगदान निद सकेनन्।
बलिङमा एपिएफका अमरसिंह रौटेला र रोहितकुमार पौडेलले समान ३ विकेट लिँदा भुवन कार्कीले २ विकेट लिए।
६ खेलमा एपिएफको यो चौथो जित हो। ऊ ८ अंकसहित चौथो स्थानमा छ। दुई विभागीय टिम आर्मी र पुलिससँग पराजित भएको एपिएफ उपाधि होडबाट भने लगभग बाहिरिसकेको छ। सुदूरपश्चिम ७ खेलमा ४ अंकसहित छैठाैं स्थानमा छ।