आरआर क्याम्पसमा चैत १६ मा स्ववियु निर्वाचन हुने
निर्वाचन समितिका संयोजक महेश भट्टराईका अनुसार शुक्रबार सर्वदलीय बैठक बसेर १६ गते चुनाव गर्ने निर्णय भएको हो।
काठमाडौं, चैत ८ : रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आगामी चैत १६ गते हुने भएको छ।
गत चैत ५ गते चुनाव गर्ने तयारी भइरहेको बेला अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएका थिए। निर्वाचन समितिका संयोजक महेश भट्टराईका अनुसार शुक्रबार सर्वदलीय बैठक बसेर १६ गते चुनाव गर्ने निर्णय भएको हो।
‘सर्वपक्षीय सहमतिमा चैत १६ गते चुनाव गर्ने वातावरण तय भएको छ । १६ गते चुनाव हुन्छ। फर्जी मतदाताको प्रश्न पनि छलफलबाट टुंगिएको छ,’ संयोजक भट्टराईले काठमाडौंप्रेससँग भने।
आरआर क्याम्पसको स्ववियु निर्वाचन अन्तिम चरणमा आएर स्थगित भएको थियो। फर्जी मतदाता विवादमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा चुनावको अघिल्लो दिन राती तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको थियो।
क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको दाबी उक्त विद्यार्थी संगठनले गरेको थियो।
निर्वाचन समिति संयोजक महेश भट्टराई र क्याम्पस प्रमुख डा.पद्मकुमार अधिकारीले सूचना जारी गर्दै सम्पूर्ण तयारी भइसकेको अवस्थामा तालाबन्दी हुँदा प्रतिकूल अवस्था सिर्जना भएकोले निर्वाचन स्थगित गर्नुपरेको बताएका थिए।
शुक्रबार सबै विद्यार्थी संगठनको सर्वपक्षीय बैठकपछि सबैको सहमतीमा १६ गते चुनाव गर्ने निधो गरिएको हो । आरआरमा चुनावका लागि सबै तयारी पूरा भइसकेको छ । आरआरमा कुल ५ हजार १४६ मतदाता कायम छन्।