नेसन्स लिग : पोर्चुगल पराजित, क्रोएसियाले फ्रान्सलाई हरायो, रोकियो स्पेन
नेसन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा पोर्चुगल पराजित हुँदा क्रोएसियाले फ्रान्सलाई हराएको छ । डिफेन्डिङ च्याम्पियन नेदरल्यान्ड्ससँग रोकिँदा जर्मनीले इटालीलाई हरायो।
काठमाडाैं, चैत ८ : युईएफए नेसन्स लिगमा पोर्चुगल पराजित भएको छ। बिहीबार राति भएको क्वार्टरफाइनलको पहिलो लेगमा पोर्चुगल डेनमार्कसँग १–०ले पराजित भयो।
घरेलु मैदानमा डेनमार्कले पोर्चुगललाई सुरुआतदेखि नै पूर्णरुपमा दबाबमा राखेको थियो। तर, गोल भने दोस्रो हाफमा भएको थियो। उसका लागि ७८औं मिनेटमा रास्मस होइल्यान्डले गोल गरेका थिए। उनले क्रिस्टियन एरिक्सनको पासमा गोल गरेका थिए।
पहिलो हाफमै उसले गोलको सुन्दर अवसर गुमाएको थियो। पोर्चुगलका रेनाटो भिएगाले डिबक्समा ह्यान्ड गरेपछि २४औं मिनेटमा डेनमार्कले पेनाल्टी पायो। तर, एरिक्सन गोल गर्न चुके। उनको प्रहार पोर्चुगलका गोलकिपर डिएगो कोस्टाले बचाएका थिए।
त्यसबाहेक पनि डेनमार्कले गोलका राम्रा अवसर सिर्जनाग गरेको थियो। कोस्टाले केही उत्कृष्ट बचाउ गरेका थिए। बल पोजेसनमा कमजोर भएपनि २३ सट प्रहार गरेको थियो। त्यसमध्ये ९ सट फ्रेममा थियो। यता, पोर्चुगलले ८ सट प्रहार गर्दा २ सट मात्र फ्रेममा थियो।
नेसन्स लिगमा क्रोएसियाले सानदार जित निकालेको छ। बिहीबार राति भएको खेलमा क्रोएसियाले फ्रान्समाथि २–०को जित निकाल्यो।
खेलमा क्रोएसियालाई जित दिलाउन एन्टे बुडिमिर र इभान पेरेसिचले गोल गरे। दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो। २६औं मिनेटमा बुडिमिरले गोल गर्दै क्रोएसियालाई खेलमा अग्रता दिलाए। त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा पेरेसिचले गोल गरेपछि क्रोएसियाले खेलमा २–०को अग्रता लियो।
त्यसअघि क्रोएसियाले सुरुआतमै पेनाल्टी चुकाएको थियो। ८औं मिनेटमा प्राप्त पेनाल्टीमा आन्द्रे क्रामारिचको प्रहार फ्रान्सका गोलकिपरले बताएका थिए। दोस्रो हाफमा गोल नहुँदा क्रोएसिया विजयी भयो।
यस्तै, अर्को खेलमा डिफेन्डि च्याम्पियन स्पेन रोकिएको छ। बिहीबार राति भएको खेलमा ऊ घरेलु टोली नेदरल्यान्ड्ससँग २–२को बराबरीमा रोकियो।
खेलमा सुरुआती अग्रता भने स्पेनले लियो। नवौं मिनेटमा उसका निको विलियम्सले गोल गरेका थिए। तर, २८औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए।
दोस्रो हाफको पहिलो मिनेटमै नेदरल्यान्ड्सले खेलमा अग्रता लियो। उसका तिजानी रेइज्नडर्सले गोल गरेका थिए। ८१औं मिनेटमा नेदल्यान्ड १० खेलाडीमा समेटियो। उसका जोरेल हाटोले रातो कार्ड पाएका थिए।
त्यसको फाइदा स्पेनलाई भयो। इन्जुरी समयको तेस्रो मिनेटमा मिकेल मोरिनोले गोल गर्दै स्पेनलाई हारबाट जोगाए।
यस्तै, अर्को खेलमा जर्मनीले १ गोललेपछि परेको अवस्था उल्टाउँदै इटालीमाथि २–१को जित निकाल्यो। खेलमा नवौं मिनेटमा सान्द्रो टोनालीको गोलमा इटालीले अग्रता लिएको थियो।
तर, दोस्रो हाफका जर्मनीले पुनरागमन गर्दै जित निकाल्यो। ४९औं मिनेटमा उसका टिम क्लाइन्डिस्टले गोल गरेका थिए भने ७६औं मिनेटमा लियोन गोर्टेज्काले गोल गरेका थिए।
अब क्वार्टरफाइनलको दोस्रो लेग आइतबार राति हुने छ।