Kathmandu Press

राजावादीलाई ‘काउण्टर’ दिन एमालेको देशव्यापी जनसचेतना अभियान

एमालेले जनतालाई सचेत पार्न र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न यही चैत ११ गते देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको छ।
राजावादीलाई ‘काउण्टर’ दिन एमालेको देशव्यापी जनसचेतना अभियान

काठमाडौं, चैत ७ : नेकपा (एमाले) ले मुलुकमा हाल भइरहेको राजावादीको सक्रियतालाई ‘काउण्टर’ दिन देशव्यापी जनसचेतना अभियान चलाउने भएको छ। 

एमालेले जनतालाई सचेत पार्न र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न यही चैत ११ गते देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको छ। उक्त कार्यक्रम एकैदिन एकै समय गरिने भएको छ। 

एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने जनाएको छ। 

‘प्रतिगामी कुप्रयासका विरूद्धमा पार्टीको वडाकेन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने,’ एमालेको निर्णयमा भनिएको छ। 

चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गरिने छ । चैत २४ देखि ३० गतेसम्म बाग्मती बाहेकका छवटै प्रदेशका धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने निर्णय समेत गरिएको छ। 

एमाले महासचिव शंकर पोखरेलले बिहीबार सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकबाट सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयनमा लैजान निर्देशन दिएका छन्। 
 

प्रकाशित मिति: १८:५३ बजे, बिहीबार, चैत ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्