एक भाइलकै ७० हजार पर्ने मष्तिष्क पक्षघातको औषधी अब मन्त्रालयले निःशुल्क उपलब्ध गराउने
अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वल्र्डवाइड’ को सहजीकरणमा उक्त औषधि उपलब्ध भएको हो।
काठमाडौं, चैत ७ : तीन वटा सरकारी अस्पतालबाट मष्तिष्क पक्षघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने भएको छ।
अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वल्र्डवाइड’ को सहजीकरणमा उक्त औषधि उपलब्ध भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी प्रारम्भिक चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध हुने जनाएको छ।
औषधि हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मष्तिष्क पक्षघातमा आवश्यकपर्ने महँगो औषधि उपलब्ध गराएकामा संस्थाप्रति आभार व्यक्त गरे।
'यो औषधि राज्य कोषबाट किनेर आवश्यकपर्नेलाई उपलब्ध गराउन गाह्रो थियो। आवश्यकताअनुसार अरु अस्पतालमा पनि वितरण गर्ने लक्ष्य छ । दातृ संस्थासँग अरु महँगा औषधि पनि माग गरेका छौं,' उनले भने।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा निर्देशक डा. पवनजङ्ग रायमाझीले मष्तिष्क पक्षघातमा अत्यावश्यक र ज्यान जोगाउन सकिने औषधि प्राप्त भएको बताए।
उनका अनुसार ८०० भाइल ‘अल्टिप्लेस’ औषधि उपलब्ध भएको छ।
'मष्तिष्कमा रहेका रक्तनलीमा अकस्मात् रगत जम्दाखेरी मष्तिष्क पक्षघात हुने सम्भावना हुन्छ । यदि यस्तो व्यक्तिमा साढे चार घण्टाभित्र यो औषधि प्रयोग गर्न सकेमा बिरामीको ज्यान जोगिन्छ।'
डा रायमाझीका अनुसार यो औषधि एक भाइलमा २० मिलिग्राम हुने र एउटै भाइलको ७० हजार पर्छ।
उनले भने, 'यो औषधि प्रयोग गर्न दक्ष स्वास्थ्यकर्मी (न्युरोलोजिस्ट) को आवश्यकता पर्दछ । त्यसैले सुरुआती चरणमा तीन वटा अस्पतालबाट दिने सोचेका छौँ । पछि आवश्यकताअनुसार सबै प्रदेशका सङ्घीय अस्पतालमा उपलब्ध हुन्छ।'
उनले यो औषधिलाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको ‘कोल्ड चेन’मा २ देखि ८ ‘सेन्टिग्रेड’मा भण्डारण गरिएको र आवश्यकताअनुसार उपलब्ध गराइने जनाए।
नेपालमा एक वर्षमा ३०० देखि ४०० को सङ्ख्यामा पक्षघातका बिरामी उपचारका लागि स्वास्थ्य संस्था आउने गरेका छन्।












