Kathmandu Press

विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरू

विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरू

काठमाडौं, चैत ५ : विद्यालय शिक्षा विधेयक–२०८० माथि दफावार छलफल सुरु भएको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आजदेखि विधेयकको प्रस्तावनामाथि छलफल सुरु भएको हो।

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अनिवार्य र निःशुल्क शिक्षाको मर्मलाई विधेयकको प्रस्तावनाले समेट्नुपर्ने बताइन्।

उनले विद्यालय शिक्षा सुधार गर्न विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

हाल शिक्षक र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने गरी विधेयक बनाउनुपर्नेमा उनको जोड थियो।

छलफलमा समिति सदस्य दीपा शर्माले विद्यालय शिक्षालाई व्यहारिक बनाउनुपर्नेमा जोड दिइन्।

यस्तै, सदस्य चन्द्र भण्डारीले संविधानले तोकेको निःशुल्क र अनिवार्य शिक्षालाई विधेयकमा समेट्नुपर्ने बताए। 

सदस्य डा. तोसिमा कार्की, सुमना श्रेष्ठ, सरिता भुषाललगायतले विधेयकको सार संक्षेपलाई प्रस्तावनामा समेट्नुपर्नेमा जोड दिए।

उनहरूले निःशुल्क र अनिवार्य शिक्षाको मर्मअनुसार समाजवाद उन्मुख, समान पहुँच र भेद्भावरहित शिक्षाका लागि संविधानको दफा नै उल्लेख गरेर प्रस्तावना संशोधन गरिनुपर्ने संशोधन प्रस्ताव पेस गरे।

समितिका सभापति अमरबहादुर थापाले विधेयकमाथि दैनिक दफावार छलफल हुने जानकारी दिए।

उनले कार्यतालिका बनाएर अघि बढ्ने र एक महिनाभित्र समितिबाट विधेयक पारित गर्ने गरी छलफल गरिने बताए।

बैठकले विधेयकका अन्य बुँदामा छलफल गर्दै जाने र प्रस्तावनालाई अन्तिममा टुग्याउने निर्णय गरेको समिति सदस्य ईश्वरी घर्तीले जानकारी दिए। 

प्रकाशित मिति: २०:३९ बजे, मंगलबार, चैत ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्