Kathmandu Press

परराष्ट्रमन्त्री राणा र  ट्रम्पका सुरक्षा निर्देशकबीच भेटवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह

परराष्ट्रमन्त्री राणा र  ट्रम्पका सुरक्षा निर्देशकबीच भेटवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं, चैत ५ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग नयाँ दिल्लीमा आज भेटवार्ता गरेकी छन्।

भारतको विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’ कार्यक्रमकाबीच उनीहरुबीच आज ‘साइडलाइन’ भेटवार्ता भएको हो।

Hardik ivf

सो भेटवार्ताका क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा मन्त्री डा. राणाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह गरिन्।

विपिनको रिहाइका लागि पहल गरिदिन यसअघि पनि आफूले अमेरिकी सरकारसँग आग्रह गरेको स्मरण गराउँदै उनको अझैसम्म रिहाइ हुन नसकेकाले सहयोगको अपेक्षा गरेको बताइन्।

इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिनलाई सन् २०२३ को अक्टोबरमा हमासले इजरायली भूमिबाट अपहरण गरेर लगेका थिए।

उनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ । विश्वका नेता एवं आफ्ना समकक्षीहरुसँगको भेटमा परराष्ट्रमन्त्री डा. राणाले विपिन जोशीको रिहाइका लागि सहयोगको आग्रह गर्दै आएकी छन्।

प्रकाशित मिति: २०:०८ बजे, मंगलबार, चैत ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्