मधेश कृषि विश्वविद्यालयका उपकुलपतिलाई नहटाउन अन्तरिम आदेश जारी
मधेश कृषि विश्वविद्यालयकी सहकुलपति रहेकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीसहित १३ जनालाई विपक्षी बनाइएको सो रिटमा आइतबार सर्वोच्च अदालतले अन्तरिम आदेश र कारण देखाउ आदेश जारी गरेको छ।
धनुषा, चैत ४ : मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा.बैधनाथ महतोलाई नहटाउन सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश जारी गरेको छ।
विश्वविद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री सतीशकुमार सिंहको उपस्थितिमा सम्पन्न सिनेटको बैठकबाट बहुमतले उपकुलपति डा.महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गरिएको थियो।
मधेश कृषि विश्वविद्यालयकी सहकुलपति रहेकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीसहित १३ जनालाई विपक्षी बनाइएको सो रिटमा आइतबार सर्वोच्च अदालतले अन्तरिम आदेश र कारण देखाउ आदेश जारी गरेको छ।
सहकुलपति समेत रहेकी मन्त्री तिवारीले महतोलाई बर्खास्त गरिएको पत्र दिए लगतै उनले सर्वोच्चमा रिट दर्ता गरेका थिए। उपकुलपति महतोलाई बर्खास्त गरिए लगतै शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशले फागुन २७ गते नयाँ उपकुलपतिका लागि विज्ञापन समेत आह्वान गरिसकेको छ।
मन्त्रालयले ‘कुलपति सिफारिस समिति’को मिति २०८१÷११÷२६ गतेको निर्णय अनुसार विज्ञापन प्रकाशन गरिएको सूचनामा उल्लेख गरिएको छ। तर सर्वोच्च अदालतले विश्वविद्यालयको उक्त सूचना समेतमा रोक लगाउँदै उपकुलपतिको कामकाज पनि खुल्ला गरेको छ।
अदालतले अल्पकालिन आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
उपकुलपति महतो र रजिष्ट्रार ठाकुरलाई हटाउने निर्णय एउटै सिनेटको बैठकबाट भए पनि ठाकुरलाई ढिला गरी पत्राचार गरिएको छ। ठाकुर पनि अदालत जाने तयारीमा छन्।
