स्वास्थ्य मन्त्रालय र तिलगङ्गा आँखा अस्पतालबीच सम्झौता

काठमाडौं, चैत ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच अभिवृद्धि गर्ने विषयमा सम्झौता भएको छ।
मन्त्रालयमा आज एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे।
सो अवसरमा मन्त्री पौडेलले आँखाको क्षेत्रमा तिलगङ्गाले पुर्याएको योगदान सराहनीय रहेको बताए।
'तिलगङ्गाबाट उत्पादित लेन्सले अन्तरराष्ट्रियस्तरमै विश्वसनीयता प्राप्त गरेको छ । मन्त्रालयले अस्पतालले गरेका काममा सहकार्य र समन्वय गर्नेछ,' उनले भने।
कार्यकारी निर्देशक डा.रुइतले आँखाको क्षेत्रमा पहुँच नपुगेका र सिमान्तकृत वर्गमा तिलगङ्गा पुगिरहेको उल्लेख गर्दै उत्पादन गरिरहेको लेन्सको क्षमता विस्तार गर्ने तयारी भइरहेको बताए।
'हामीले हेटौँडामा लेन्स उत्पादनको क्षमता विस्तार गर्न तयारी गरिरहेका छौं। यसले तीनदेखि चार गुणा नै बढी उत्पादन गर्छ । निर्माणमा खर्च अपुग छ । सरकारको सहयोगको अपेक्षा छ,' उनले भने।
मोतियाबिन्दु शल्यक्रिया पश्चात उपयोग हुने लेन्स उत्पादनका लागि कच्चा पदार्थ र उपकरण आयातमा प्रचलित कानुन बमोजिम भन्सार तथा मूल्य अभिवृद्धिकर सहुलियतका लागि सिफारिस प्रदान गर्ने सहमति भएको छ।
सहमतिअनुसार नेपाल आँखा कार्यक्रमबाट उत्पादन भएको मोतियाबिन्दु शल्यक्रिया पश्चात उपयोग हुने (पोलिमेथाईल मेथाक्रालेट ईन्ट्राअकुलर) लेन्समध्ये १० प्रतिशत लेन्स आँखा स्वास्थ्य सेवाका पहुँच बाहिर दुर–दराजका समुदायमा रहेका नागरिकको उपचारका लागि सरकारी अस्पतालद्वारा सञ्चालित शिविरमार्फत निःशुल्क प्रदान गर्न उपलब्ध गराउनुपर्नेछ।












