‘पूर्वविशिष्टहरु पदमा हुँदा पनि लुट्ने, रिटायर्ड भएपछि पनि लुट्ने?’
सांसद डा.अमरेशकुमार सिंहले सिभिल अस्पतालको डाइरेक्टरमा मेरिट लिस्टको एक नम्बरमा रहेका प्रमोद यादवलाई नियुक्ति नदिइएर तीन नम्बरमा रहेका व्यक्तिलाई नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका छन्।
काठमाडौं, चैत ३ : प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सिभिल अस्पतालको डाइरेक्टरमा मेरिट लिस्टको एक नम्बरमा रहेका प्रमोद यादवलाई नियुक्ति नदिइएर तीन नम्बरमा रहेका व्यक्तिलाई नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मधेशी भएकै कारण प्रमोद यादवलाई सरकारले विभेद गरेको आरोप लगाए।
‘भर्खरै सिभिल हस्पिटलको डाइरेक्टरको नियुक्ति भएको छ। त्यहाँ पनि तीन नम्बरकोे मान्छेलाई गरियो। सिफारिस हुँदा मेरिट लिस्टको एक नम्बरमा प्रमोद यादव थिए,’ उनले भने, ‘मधेशी भएको कारणले त्यहाँ नियुक्ति भएन । सरकारले के बुझेको छ? मधेशी, जनजाति, दलित, महिला के भिख माग्नका लागि यो देशमा बसेको हो?’
सरकारले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरी ड्राफ्ट गरेको कानुनको उनले विरोध गरे। उनले पदबाट बाहिरिइसकेपछि पनि जनतालाई ऋणको मारमा पारेर उनीहरुलाई सुविधा दिन नहुने बताए।
‘पूर्वविशिष्टको सुविधाको कुरा छ। पदमा हुँदा लुट्ने, ठूला–ठूला काण्ड गर्ने, एनसेलदेखि लिएर वाइटवडी काण्ड गर्ने। रिटायर्ड भएर पनि जनताको लुट्ने? त्यो मिल्दैन,’ उनले भने, ‘जनता ऋणको मारमा जाने, पूर्वविशिष्टहरु पदमा जाँदा पनि लुट्ने, रिटायर्ड भएर पनि लुट्ने, यो बन्द हुनुपर्छ।’












