बीमाका लागि ०८२ सालमा ४० अर्ब विनियोजन गर्न मुस्किल छ : मन्त्री पौडेल
‘बीमा अहिले हाम्रो जीवनको अभिन्न अंग बनेको छ। यसको विकल्प खोजेको होइन। यसलाई व्यवस्थित गर्न खोजेको हो। यसलाई निरन्तरता दिन खोजेको हो,’ मन्त्री पौडेलले भने, ‘यसबाट आम नागरिकलाई बढीभन्दा बढी कसरी सेवा उपलब्ध गराउन सकिन्छ त्यसबारे काम गर्न खोजेको हो।’-1735900539.jpg)
काठमाडौं, चैत ३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बीमाको स्वरुपको विकल्प खोज्न आवश्यक रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित स्वास्थ्य बीमा प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रममा उनले बीमाको निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब रुपैयाँ बिनियोजन भएको र यही स्वरुपको बीमा व्यवस्थित गर्न ०८२ सालमा ४० अर्ब हुने देखिएको भन्दै उनले सरकारको क्षमताभन्दा बाहिर रहेकोले बीमाको स्वरुपको विकल्प आवश्यक रहेको बताए।
‘कसको दोष हो म त्यतातिर जान चाहन्नँ। समस्या के छ भने बीमाका निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब रुपैयाँ बिनियोजन भएको स्थिति छ । बीमाको अनुमानित खर्च ०८२ मा करिब ४० अर्ब हुने देखिन्छ,’ उनले भने, ‘आगामी कार्यक्रममा सरकारले ४० अर्ब बिनियोजन गर्यो भने मात्रै यही स्वरुपको बीमा व्यवस्थित हुन सक्छ। ४० अर्ब बिनियोजन गर्ने र त्यसपछि आवश्यकता अनुसार बढाउँदै गए राज्यको क्षमता अनुसार सम्भव हुन्छ जस्तो मलाई लाग्दैन। त्यसैले बीमाको होइन यसको स्वरुपमा विकल्पलाई अगाडि ल्याएका हौं।’
उनले बीमा अहिले जीवनको अभिन्न अंग बनेकाले यसको विकल्प नभई थप व्यवस्थित गर्न खोजिएको बताए। आम नागरिकलाई बढि भन्दा बढि कसरी बीमाबाट सेवा उपलब्ध गराउन सकिन्छ भन्नेबारे आफूहरु लागेको उनको भनाई छ।
‘बीमा अहिले हाम्रो जीवनको अभिन्न अंग बनेको छ। यसको विकल्प खोजेको होइन। यसलाई व्यवस्थित गर्न खोजेको हो। यसलाई निरन्तरता दिन खोजेको हो,’ मन्त्री पौडेलले भने, ‘यसबाट आम नागरिकलाई बढीभन्दा बढी कसरी सेवा उपलब्ध गराउन सकिन्छ त्यसबारे काम गर्न खोजेको हो।’
स्वास्थ्य बीमालाई अझ प्रभावकारी बनाउन के कस्ता नीतिगत र व्यवहारिक सुधार आवश्यक छन् भन्ने विषयहरुमा समाधान खोज्ने पनि उनले जानकारी दिए।












