Kathmandu Press

‘वंशको शासन ल्याउन खोजेर प्रतिगमनतिर मुलुकलाई लैजाने कुरा स्वीकार्य हुन्न’

‘व्यवस्था बदल्न चाहनेहरू प्रतिगमनतिर हैन अग्रगमनतिर आउनुस्। वंशको शासनको कुरा छोडिदिनु तिनीहरूले न त्याग, न बलिदान, न तपस्या गरेका छन् । देशलाई लुट्न मात्रै जानेका छन्,’ उनले भने। 
‘वंशको शासन ल्याउन खोजेर प्रतिगमनतिर मुलुकलाई लैजाने कुरा स्वीकार्य हुन्न’

काठमाडौं, चैत २ : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशको शासन ल्याउन खोजेर प्रतिगमनतिर मुलुकलाई लैजाने कुरा स्वीकार्य नहुने  बताएका छन्। 

समाजवादी मोर्चा, नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले देशमा कुनै योगदान नगरेका र वंशको आधारमा शासन गरेकाहरूलाई देशको नेतृत्व गर्न दिन नहुने बताए। 

‘पुँजीवादी व्यवस्थालाई बदल्नुपर्छ तर सामन्तवादी व्यवस्थामा जाने होइन। दलाल पुँजीवादको वर्चश्व रहेको व्यवस्था, जो वंशको आधारमा पहिले १०४ र २४० वर्षसम्म शासन सञ्चालन गरेर बसेकाहरू पछि सत्ताको आडमा सत्ताको दुरुपयोग गरेर हालिमुहाली चलाएकाहरू हुन्, तिनीहरूबाट मुक्ति चाहियो । त्यसपछि समाजवादी लोकतन्त्रमा जानुपर्छ,’ अध्यक्ष नेपलले भने।

नेपालमा आफ्नै मौलिक खालको समाजवादको अवधारणा अगाडि सार्नुपर्ने उनले बताए। उनले राजनीतिक व्यवस्था अग्रगमनका लागि हुनुपर्ने बताए।

‘व्यवस्था बदल्न चाहनेहरू प्रतिगमनतिर हैन अग्रगमनतिर आउनुस्। वंशको शासनको कुरा छोडिदिनु तिनीहरूले न त्याग, न बलिदान, न तपस्या गरेका छन् । देशलाई लुट्न मात्रै जानेका छन्,’ उनले भने। 

संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहिनता, सरकारको मानोमानी, देश एवं जनताको हित विपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्त्व लागिपरेको समाजवादी मोर्चाले ठहर गरेको छ । 

प्रकाशित मिति: १९:३४ बजे, शनिबार, चैत २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्