Kathmandu Press

पिएम कपमा मधेशमाथि पुलिसको सहज जित

लुम्बिनी प्रदेशमा जारी पिएम कपमा लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले मधेश प्रदेशलाई १९३ रनको फराकिलो अन्तरले हरायो।
पिएम कपमा मधेशमाथि पुलिसको सहज जित

दाङ, चैत २ : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम नेपाल पुलिस क्लबले लगातार चौथो जित निकालेको छ। लुम्बिनी प्रदेशमा जारी पिएम कपमा लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले मधेश प्रदेशलाई १९३ रनको फराकिलो अन्तरले हरायो।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा २८९ रनको ठूलो लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा ९५ रनमै समेटियो। उसका लागि दीपेश दासले सार्वधिक ३१ रन बनाउँदा रुपेश सिंहले १६ र विशाल पटेलले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

Hardik ivf

मधेशको इनिङ धरासायी बनाउने क्रममा पुलिसका ललित राजवंशीले घातक बलिङ गरे। उनले ९.१ ओभरमा २ मेडनसहित २८ रनमात्र खर्चेर ५ विकेट लिए। उनले अघिल्लो खेलमा एपिएफविरुद्ध ७ विकेट लिएका थिए। यस्तै, कुशल भुर्तेलले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पुलिसले कप्तान दीपेन्द्रसिहं ऐरी र आरिफ सेखको अर्धशतक मद्दतमा १ बल बाँकी छँदा अलआउट हुँदै २८८ रन बनाएको थियो। यसअघिका तीन खेलमा नचलेका दीपेन्द्रले मधेशविरुद्ध विस्फोटक ब्याटिङ गरे । उनले ३६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन बनाए। 

यस्तै, आरिफले ५४बलमा ४ चौका र १ छक्का मद्दतमा ५५ रन बनाए। यी दुई बाहेक अर्जुन साउदले ७३ बलमा ४७ रन बनाउँदा दिलिप नाथले ७० बलमा ४५ र शंकर रानाले २७ रन बनाए। 

बलिङमा मधेशका रुपेश सिंहले ४ विकेट लिए भने विशाल पटेलले ३ र कमल गुप्ताले २ विकेट लिए।

लागतार चौथो जित निकालेको पुलिस ८ अंकसहित शीर्ष स्थानमा छ। मधेशको भने यो तेस्रो खेलमा दोस्रो  हार हो। पहिलो खेलमा कोशी प्रदेशलाई हराएको ऊ दोस्रो खेलमा त्रिभुनव आर्मी क्लबसँग पराजित भएको थियो। 

प्रकाशित मिति: १८:५८ बजे, शनिबार, चैत २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्