प्रचण्डको आरोप- पूर्वराजा ज्ञानेन्द्र मूर्तिचोर, तस्कर र भाइमारा हुन्
मैले पाँच वर्ष शासन गर्न पाएको भए ठेगान लगाइदिन्थें: प्रचण्ड
काठमाडौं, चैत १ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वराजा ज्ञानेन्द्रलाई विभिन्न आरोप लगाउँदै चुरिफुरी गर्न चेतावनी दिएका छन्।
शुक्रबार सिन्धुपाल्चोक पुगेका प्रचण्डले पार्टीको मेलम्ची नगर समितिलाई सम्बोधन गर्दै पूर्वराजालाई 'मूर्तिचोर', 'तस्कर' र भाइमाराको आरोप लगाउँदै चुरिफुरी नगर्न चेतावनी दिएका हुन्।
'मूर्तिचोर को हो? नेपालका ठुल्ठूला मूर्ति चोरहरू अहिले राजा? भाइमारा को हो? आफ्नै वंश मासेर आएर धाक लगाउन मिल्छ? सुन तस्कर को हो?,' उनले भने।
उनले आफू पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको पुनः छानबिन गर्नुपर्ने भनेको स्मरण गरे।
'त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए छानबिन गरेर भाइमारा र राजद्रोही यिनिहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो,' उनले भने।
'अहिले यिनीहरू चुरीफुरि गरेका छन्। तराईको जागरण अभियानमा भनेको थिएँ। धेरै चुरिफुरी गर्यो भने धेरै मुर्खता पहिले पनि भइसकेको छ। अर्को मुर्खता गर्यो भने नेपाली जनता उदार हुँदैनन् अब। नेपालका राजनीतिक दल पनि उदार हुँदैनन्,' उनले अगाडि भने।
उनले दरबार हत्याकाण्ठ मच्चाउने राजपरिवारमै भएको पनि दाबी गरे। र त्यसबारे नेपाली जनता पनि अवगत भएको बताए।
'यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू त परिवारभित्रै थिए नि। उनीहरूको परिवारभित्र। नेपाली जनता सबैले बुझेका छन्। त्यसको प्लानर र मास्टरमाइन्ड को हो भन्ने नेपाली जनताले बुझेका छन्,' उनले भने,' नेपाली जनतालाई थाहा छ। बिर्से भन्ठानेका छन् तिनिहरूले?'
अध्यक्ष प्रचण्डले बढी नउचालिन पनि पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी दिएका छन्।
'तिनका आसेपासेहरूले त आफै लुट्न पाइन्छ कि भनेर बोक्न सक्छन् तिमी बढी उचालियौ भने या विदेशीले एक-दुइटा फोटो टाँसेर उनको भरमा आउँछु कि भन्ने सपना देखेको भए त्यो दिवा सपना हुनेछ। त्यो भ्रममा नरहन अपिल गर्छौं,' उनले भने।