सरकारविरुद्ध आन्दोलन घोषणा गर्दैै नेकपा एसले भन्यो– राज्य नालायक बन्यो
सत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदै गएको कारण सडक अराजक र पपुलिष्ट हुँदै गएको पनि उनको आरोप छ।
काठमाडौं, चैत १ :नेकपा एकीकृत समाजवादीले रोजगारी तथा सुशासनको लागि सरकारविरुद्धको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीका महासचिव घनश्याम भुसालले आन्दोलनको कार्यतालिकासहित कार्यक्रम घोषणा गरेका हुन्।
कार्यक्रम सार्वजनिक गर्दै उनले सत्ता केन्द्रित नाजायज गठबन्धनको राजनीतिले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताए। सत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदै गएको कारण सडक अराजक र पपुलिष्ट हुँदै गएको पनि उनको आरोप छ।
‘सत्ता केन्द्रीत नाजायज गठबन्धनकोे राजनीतिले मुलुकको समस्या समाधान गर्न सक्दैन। राज्य नालायक बन्दै जान्छ, राज्यको नालायकीले सामाजिक असन्तुष्टिलाई बढाउँछ, नालायक राज्यले शक्ति प्रयोग गर्न थाल्छ र अस्थिरताका शक्तिहरू, पुराना साम्प्रदायिक र पपुलिष्ट तत्त्वहरूले त्यस असन्तुष्टिलाई उत्तेजक बनाउँदै लै जान्छन्,’ उनले भने, ‘आज मुलुकमा त्यही भइरहेको छ। सत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदैछन। सडक अराजक र पपुलिष्ट हुँदै गएकोछ।’
महासचिव भुसालले यस्तो अवस्थामा देशका जिम्मेवार राजनीतिक पार्टी र नागरिक समुदायले गम्भीर आत्मसमीक्षा गर्दै एउटा नयाँ पहलकदमीद्वारा हस्तक्षेप गर्नु आवश्यक भइसकेको बताए।
आन्दोलनको पहिलो चरणमा चैत्र १ गते पत्रकार सम्मेलन, चैत्र २–६ सम्म मातहत कमिटीहरुमा छलफल,चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरुसँग सम्वाद तथा सुझाव संकलन,चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रमम छ।
यस्तै चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन,वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने, वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन,वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने कार्यक्रममा छ।
वैशाख २५ गते दोश्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने उनले जानकारी दिए।