काठमाडाैं भित्रिने सवारीलाई नागढुंगामा डिस्इन्फेक्सन गरिने
काठमाडौं, वैशाख १८ : कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिमलाई न्यूनिकरण गर्न चन्द्रगिरी नगरपालिकाले काठमाडौं भित्रिने नाकामा ‘डिस्इन्फेक्सन टन....
काठमाडौं, वैशाख १८ : कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिमलाई न्यूनिकरण गर्न चन्द्रगिरी नगरपालिकाले काठमाडौं भित्रिने नाकामा ‘डिस्इन्फेक्सन टनेल’ निमार्ण गरेको छ। काठमाडौं भित्रने सवारी साधनबाट संक्रमण फैलने जोखिम न्यूनिकरण गर्न प्रवेश नाका नागढुंगामा डिस्इन्फेक्सन टनेल राखिएको हो।
सामान्य समयमा नागढुंगाबाट दैनिक २५ हजार सवारी साधन आवतजावत हुन गर्थ्यो । सोहीबाटो हुँदै करिब डेढ लाख मानिस सवारी साधनमा यात्रा गर्दथे। लकडाउनको समयमा भने नागढुंगाबाट लगभग ७ सयको हाराहारीमा सवारी साधन दैनिक काठमाडौं भित्रने गरेका छन्।
यो टनेल शुक्रबार बिहान ८ बजे औपचारीक रुपमा उद्घाटन भइ सञ्चालन आउने चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले बताए। उनका अनुसार सुरुको चरणमा काठमाडौं भित्रने ठूला सवारीहरुलाई मात्र अनिवार्य रुपमा यो टनेलमा प्रवेश गरी डिस्इन्फेक्सन स्प्रे छर्केर मात्र प्रवेश दिइनेछ। टनेलभित्र प्रवेश गर्दा सवारीको बाहिरी भागमा भाइरस मार्ने औषधि ‘डिस्इन्फेक्सन स्पे्र’ छर्किइने उनले बताए।
सानो सवारीहरुको लागि पनि यस्तै टनेल बनाउने योजना रहेको मेयर गिरीले बताए। साथै नागढुंगा हुँदै काठमाडौं भित्रिएका यात्रुलाईसमेत थर्मल गनमार्फत जाँच गरिएको उनको भनाई छ।
‘डिस्इन्फेक्सन टनेल बनाउनुको मुख्य उद्देश्य भनेकै बाहिर जिल्लाबाट काठमाडौं प्रवेश गरेका सवारीबाट हुन सक्ने सम्भाव्य खतरा न्युनिकरण गर्नु हो ’ उनले भने ।
यस टनेलका लागि वुहानमा प्रयोग भएकै केमिकल प्रयोग गरिएको छ।टनेलको निर्माण र मर्मत सम्भारको जिम्मा सुन्दर यातायात प्राइभेट लिमिटेडले पाएको छ । स्प्रेका लागि आवश्यक बिजुली, पानी, बत्ती, सुरक्षात्मक उपकरणलगायतका सामाग्री स्थानीय तहले नै व्यवस्था गर्ने मेयर गिरीले बताए।
एउटा सवारीको लागि करिब एक लिटर पानी लाग्ने भएको कारण हाल ३ हजार लिटर क्षमता भएको पानीको ट्यांकी राखिएको छ। दैनिक ३ हजार वटा सवारीका लागि टनेल पर्याप्त हुने मेयर गिरी बताउँछन्। उनले भने ‘हामीसँग तीन चार महिनालाई पुग्ने स्टक छ।’
चिनियाँ प्रविधिसँग प्रभावित भएर नेपाल आर्मीको डिजाईनमा बनाइएको टनेलको उपयोगिता हेरेर अन्य नाकाहरुमा समेत यसको स्थापनाका लागि नेपाल सरकारसँग सहयोग माग्ने उनले जानकारी दिए।