पूर्व सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा
द्वन्द्वकालमा माओवादीद्वारा काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा मृतककी श्रीमती पूर्णिमाया लामालगायतले दिएको रिटमा एक दशकदेखि मुद्दा विचाराधीन छ।
काठमाडौं, फागुन २८ : पूर्वसभामुख एवं माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो। मुद्दा सुनुवाईका लागि २७ चैतको पेसी तय भएको छ।
द्वन्द्वकालमा माओवादीद्वारा काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा मृतककी श्रीमती पूर्णिमाया लामालगायतले दिएको रिटमा एक दशकदेखि मुद्दा विचाराधीन छ।
प्रहरीमा दिएको जाहेरी अनुरुप सापकोटाविरुद्धको अनुसन्धान अघि बढाउन माग राखेर काभ्रेकी पूर्णिमाया लामाले २०६९ सालमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन्।
सर्वोच्च अदालतले २०६४ सालमा जाहेरी दर्ता गर्न दिएको आदेश अनुरुप उजुरी दर्ता भए पनि अनुसन्धान प्रक्रिया अघि नबढेको भन्दै पुर्णिमाया सर्वोच्च पुगेकी हुन्।
सर्वोच्चले यसअघि पीडितको जाहेरीका बिषयमा भएको प्रगति विवरण १५–१५ दिनमा पेश गर्न भन्दै काभ्रे प्रहरीलाई आदेश समेत दिएको थियो।












