गणतन्त्र आईसकेपछि पनि हाम्रो देश राजतन्त्रको ऐन कानूनमा बाँचिरहेको छ : मन्त्री गुरुङ
सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले आजको प्रविधिको हिसाबमा अगाडि बढ्नु पर्ने भन्दै त्यसको लागि ऐन, नीति सबैको समिक्षा गरेर अगाडि बढ्नु पर्ने बताए।-(3)-1741762430.png)
काठमाडौं, फागुन २८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्र आईसकेपछि पनि राजतन्त्रको ऐन कानूनमा बाचिरहने देश भएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित दूरसञ्चार उद्योगलाई पुनजीवित गर्दै राजस्व, प्रविधि र दिगोपना कार्यक्रममा उनले देश विकास गर्ने हो भने काम गर्ने शैली, तरिका बांगिएका पुराना भएका नीति, कानून बदल्नुपर्ने बताए।
‘हाम्रो पुलिस, सेना, एपिएफ, अदालत, संसद, मन्त्रालयहरु लगायत विभिन्न संस्थाहरु सबै छ तर यसको नीतिको हिसाबले भन्ने हो भने गणतन्त्र आईसक्यो राजतन्त्रको ऐन कानूनमा बाचिरहने देश हो,’ उनले भने, ‘त्यसकारण हामीले के गर्नुपर्यो भने हाम्रो काम गर्ने शैली, तरिका बाङ्गिएका पुराना भएका नीति, कानून बदल्नुपर्छ। हाम्रो विकास गर्ने हो भने त्यो काम गर्नुपर्छ।’
उनले आजको प्रविधिको हिसाबमा अगाडि बढ्नु पर्ने भन्दै त्यसको लागि ऐन, नीति सबैको समिक्षा गरेर अगाडि बढ्नु पर्ने बताए।
‘हाम्रो क्षेत्रको नाफा घट्दै गईरहेको छ। हामी समयानुकुल चल्नु पर्छ। आजको प्रविधिमा जुन हिसाबको विकास भएको छ त्यो हिसाबले चल्नु पर्छ। त्यसकारण ऐन, नीति सबैको समिक्षा हुन्छ र त्यसपछि नियम, विनियममा पनि समिक्षा हुन्छ । र जुन जनशक्ति चलिरहेको थियो त्यसले अब काम हुँदैन,’ उनले भने।
दूर सञ्चार ऐनलाई ड्राफ्ट गरेर संशोधनको लागि अन्तिम चरणमा पुगेको भन्दै अब केही समयमा सदनमा पेश हुने पनि उनले बताए।












