निराशाजन्य अवस्थामा सम्मेलन आशाको दियो बन्नेछ : मन्त्री भण्डारी
मंगलबार श्रम तथा रोजगार सम्मेलनको समापन समारोहमा उनले मुलुकमा एक थरिको निराशाजन्य वातावरण भईरहेको अवस्थामा आशाको दियो देखाउनु पर्ने भन्दै त्यसको लागि यो सम्मेलनले भूमिका खेल्ने बताए।-1741707267.jpg)
काठमाडौं, फागुन २७ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले मुलुकमा एक थरिको निराशाजन्य वातावरण छाएको बताएका छन्।
मंगलबार श्रम तथा रोजगार सम्मेलनको समापन समारोहमा उनले मुलुकमा एक थरिको निराशाजन्य वातावरण भईरहेको अवस्थामा आशाको दियो देखाउनु पर्ने भन्दै त्यसको लागि यो सम्मेलनले भूमिका खेल्ने बताए।
‘मुलुकमा एक थरिको निराशाजन्य वातावरण भइरहेको अवस्था छ, यो अवस्थामा हामीले आशाको दियो देखाउनु पर्ने आवश्यकता छ। विश्वासको ठूलो संकट छ, त्यसलाई चिर्दै हाम्रो लागि हामी नै सक्षम छौ, हामी गर्न सक्छौ भन्ने विश्वासको वातावरण सिर्जना गर्नुपर्छ । तर यो सजिलो छैन,’ उनले भने, ‘नीति कानून सबै छ, यात्रा शुभारम्भ पनि भएको छ तर गन्तव्यमा किन पुगि रहेका छैनौ ? यो प्रश्न एकदमै गम्भिर छ र यसमा हामी गम्भिर पनि छौं।’
उनले मन्त्रालय १६औं पञ्चवर्षीय योजना अगाडि बढाउने अवस्थामा रहेको भन्दै यसले लुकेका सम्भावनाहरु निकाल्ने बताए।
‘अहिले हामी १६औं पञ्चवर्षीय योजना अगाडि बढाउने अवस्थामा छौ । यसले अहिलेको श्रम र रोजगारका समस्याहरुलाई र आन्तरिक रोजगार प्रवद्र्धन गर्ने कुरालाई राष्ट्रिय रुपमा स्वीकार गरेको छ,’ उनले भने, ‘यसमा कुन –कुन क्षेत्रमा रोजगारका सम्भावनाहरु देखिन्छन्। ती सम्भावनाहरु कता –कता लुकेका छन् र कसरी निकाल्ने भन्ने कुरा पनि आएको छ।’
परम्परागत कुराले अहिलेको आधुनिक युगमा काम गर्न नसकिने भन्दै सबै नीति नियम र कानूनलाई समयसापेक्ष बनाएर लानुपर्ने पनि उनको भनाई छ।












