जनताका समस्या सम्बोधन गर्न अध्यक्ष दाहालको सरकारलाई सुझाव
मुलुकको शान्तिप्रक्रिया गणतन्त्र स्थापनाको प्रस्थान विन्दु थियो भन्दै उनले राजतन्त्रको अन्त्यका क्रममा देखाइएको सदाशयतालाई कमजोरी नठान्न सम्बद्ध पक्षलाई सचेत गराए।
काठमाडौं, फागुन २७ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताका समस्या सम्बोधन गर्न सरकारलाई सुझाव दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले मिटरब्याज पीडितले न्याय नपाएका र गुठी पीडित जनताका माग सम्बोधन नभएकामा जनता पीडित भएका बताए।
मुलुकको शान्तिप्रक्रिया गणतन्त्र स्थापनाको प्रस्थान विन्दु थियो भन्दै उनले राजतन्त्रको अन्त्यका क्रममा देखाइएको सदाशयतालाई कमजोरी नठान्न सम्बद्ध पक्षलाई सचेत गराए।
जनताको त्याग र बलिदानबाट प्राप्त व्यवस्थाका विरुद्ध जाने छुट कसैलाई नभएको उल्लेख गर्दै उनले लोकतन्त्र र राजतन्त्रको तुलना हुनै नसक्ने बताए। लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो अवलम्बन गरिए क्रान्तिले आफ्नो मार्ग तय गर्ने चेतावनी उनले दिए।
अध्यक्ष दाहालले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गरे। ‘राजावादीलाई मेरो आग्रह छ लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, हामीलाई आपत्ति छैन,’ उनले भने।












