पोखरामा कोटीहोम नरोकिने, दुई पक्षबीच वार्ता समिति बनाउने निर्णय
जिल्ला प्रशासन कार्यालय कास्कीको पहलमा सोमबार भएको छलफलमा पोखरामा कोटीहोम निर्विवाद रुपमा संचालन गर्न आयोजक मानव सेवा फाउन्डेसन र पोखरा महानगरपालिका सहमत भएका हुन्।-(81)-1741610193.jpg)
कास्की, फागुन २६ : पोखरामा कोटीहोम नरोकिने भएको छ । कोटिहोम निर्विवाद रुपमा संचालन गर्न सम्बन्धित दुई पक्ष सहमत देखिएका छन्।
जिल्ला प्रशासन कार्यालय कास्कीको पहलमा सोमबार भएको छलफलमा पोखरामा कोटीहोम निर्विवाद रुपमा संचालन गर्न आयोजक मानव सेवा फाउन्डेसन र पोखरा महानगरपालिका सहमत भएका हुन्।
बैठक सकिएपछि आयोजक मानव सेवा फाउन्डेशनका संरक्षक पुराण बाचक विजय भण्डारी उर्फ ‘बालयोगेश्वर विजय कृष्णमूर्ति’ले पोखरामा संचालन हुन लागेको कोटीहोम विवाद समाधान गर्न पाँच सदस्यीय वार्ता समिति गठन भएको जानकारी दिए।
यता, पोखरा महानगरपालिकाका प्रवक्ता मोतिप्रसाद तिमिल्सिनाले त्यस्तो कुनै वार्ता समिति गठन नभएको दाबी गरे। उनले जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा पोखरा महानगरका दुई जना र आयोजक मानव सेवा फाउन्डेसनका दुई जना सदस्य रहनेगरी विवाद समाधान समिति निर्माणको प्रस्ताव मात्र भएको बताए।
तिमिल्सिनाले भएको वार्ता समिति निर्माणको बारेमा भोलि मंगलबार बस्ने पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गर्ने बताए।
पोखराको लेकसाइड बाराहीघाटस्थित नेपाल ट्रस्टको जग्गामा कोटीहोम हुन नहुने कुरामा महानगर अडिग रहेको जानकारी दिँदै उनले त्यस स्थान बाहेकका अन्य ठाउँमा कोटीहोम गर्न दिन महानगर तयार रहेको बताए।
बैठकमा सहभागी विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय परिषद्का अध्यक्ष शंकर खरालले पोखरामा कोटीहोम निर्धारित मितिमा नै गर्ने कुरामा महानगर सहमत भएको जानकारी दिंदै कुन ठाउँमा गर्ने भन्ने बारेमा विवाद समाधान समितिले निर्णय लिने स्पस्ट पारे।
मानव सेवा फाउन्डेशनले पोखरामा वैशाख १७ गतेदेखि गर्ने तय भएको छ।












