Kathmandu Press

पूर्वराजालाई लक्षित गर्दै प्रधानमन्त्रीले भने- कुर्सीमा लगेर राखिँदैमा कोही शासक हुन्छ?

पूर्वराजालाई लक्षित गर्दै प्रधानमन्त्रीले भने- कुर्सीमा लगेर राखिँदैमा कोही शासक हुन्छ?

धनगढी, फागुन २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताएका छन्।

 सुदूरपश्चिम प्रदेशसभा बैठकमा आज विशेष सम्बोधन गर्दै उनले जनताको बलिदानपूर्ण र लामो सङ्घर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको व्यवस्थाको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा हिँड्न सबैमा आग्रह गरे।

प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गर्दै भावनामा बगेर देश नबन्ने स्पष्ट गरे।

उनले मुलुकमा फेरि अस्थिरता जन्माउने खेल भएकाले प्रमुख राजनीतिक दलका यसविरुद्ध उभिएकामा धन्यवाद व्यक्त गरे।

'पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने भन्ने पनि चलाइएको छ । कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ?' जनताले मानिदिन परेन?', प्रधानमन्त्री ओलीको प्रश्न थियो, 'राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएर राष्ट्रपतिका रूपमा हुनुहुन्छ । अरू कसैलाई कुर्सीमा राख्दैमा कोही राजा हुने हो र?' 

उनले अहिले दुई ठूला दलको सहमतिबमोजिम सरकार बनेको र सहमतिबमोजिम आफूले पूर्वघोषणाअनुसार सत्ता हस्तान्तरण गर्ने बताए। 

प्रकाशित मिति: १९:३२ बजे, आइतबार, फागुन २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्