Kathmandu Press

कोशी प्रदेशसभामा विधेयक पारित

उक्त प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।
कोशी प्रदेशसभामा विधेयक पारित

विराटनगर, फागुन २५ :  कोशी प्रदेशसभाको आजको बैठकले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ।

उक्त विधेयकमा संशोधनका प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता नभएका र प्रदेशसभा सदस्यहरुले दफावार छलफलमा पनि भाग नलिएपछि आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव सदनमा पेस गरेका थिए।

उक्त प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

Hardik ivf

विशेष समय

यसअघि प्रदेशसभाको बैठकको विशेष समयमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले सही ढङ्गले जनतालाई सेवा प्रवाह गर्न नसकेको आरोप लगाए।

उनले सङ्घीय सरकारले दिने अनुदानमा भारी रकम कटौती भएकामा प्रदेश सरकार आफ्ना अधिकार खोज्न असफल भएको उल्लेख गर्दै पुँजीगत र चालु खर्चको फेहरिस्त हेर्दा प्रदेश सरकार निकै कमजोर अवस्थामा देखिएको टिप्पणी गरे।

नेता आङ्बोले राजनीतिक स्थिरता कायम गर्न, संविधान संशोधन गर्न र मुलुकको आर्थिक अवस्था सुधार गर्न बनेको दुई दलको गठबन्धन पनि आफ्ना काममा असफल भएको आरोप लगाउँदै मुलुकको अर्थ सङ्कुचन भएकाले नै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएकामा चिन्ता व्यक्त गरे।

विशेष समयमै नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले २०५९ फागुन २४ गते सङ्खुवासभामा मालपोत, कृषि विकास बैङ्क र नापी शाखामा तत्कालीन बिद्रोही माओवादीबाट गरिएको आगजनीका कारण बैङ्कमा धित्तोका रुपमा राखेको जनताका जग्गाका सबै प्रमाण जलेर खरानी भएको अवस्थामा अहिलेसम्म पनि पीडितले जग्गाको प्रमाणपत्र नपाउनु दुःखको कुरा हो भने।

प्रमुख सचेतक लिङ्थेपले ३० हजार हेक्टर जग्गाभन्दा बढीका प्रमाणपत्र जलेर खरानी हुनु र २०७६ सालदेखि सुरु भएको नापीअनुसार छ हजार हेक्टर जग्गाको मात्र नाप नक्सा भएको कुरा प्रदेशसभा बैठकमा उठाए । पीडित परिवारलाई सक्दो चाँडो प्रमाणपुर्जा दिन उहाँले प्रदेश सरकारको ध्यानाकर्षण गराए।

शून्य समय

यस्तै प्रदेशसभाको शून्य समयमा प्रदेशसभा सदस्यहरु गणेशप्रसाद उप्रेती, मीना श्रेष्ठ, किशोरचन्द्र दुलाल, राधाकृष्ण खनाल, गीतादेवी रेग्मी, सुनिताकुमारी गुरुङ, प्रेमराज थाम्सुङ र होमबहादुर थापाले प्रदेशका जल्दाबल्दा विषयमा बोलेका थिए।

कोशी प्रदेशसभाको अर्को बैठक यही फागुन २७ गते अपराह्न २ बजे बस्नेछ ।

प्रकाशित मिति: १९:१९ बजे, आइतबार, फागुन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्