बारको उम्मेदवारी प्रक्रियामा प्रश्न उठाउँदै डिएलए पूर्व अध्यक्ष खनालको आपत्ती
नेपाल बार एसोसिएसनको उम्मेदवारी संगठनलाई बाइपास गरेर तय गरिएको भन्दै डेमोक्रेटिक लयर्श एशोसिएसनका (डिएलए) का पूर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता यदुनाथ खनालले असन्तुष्टी व्यक्त गरेका छन् ।
काठमाडौं, फागुन २५ : नेपाल बार एसोसिएसनको उम्मेदवारी संगठनलाई बाइपास गरेर तय गरिएको भन्दै डेमोक्रेटिक लयर्श एशोसिएसनका (डिएलए) का पूर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता यदुनाथ खनालले असन्तुष्टी व्यक्त गरेका छन् ।
खनाल डिएलएबाट बार अध्यक्षका दाबेदार समेत थिए । खनालले एक अपील जारी गर्दै डीएलएको उम्मेदवार छनोट समितिबाट उम्मेदवार तय नगरी बाहिरबाट गरिएको बताउँदै खनालले दुर्भाग्यपूर्ण रहेको बताएका छन्।
‘नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसनको बिधान २०४७ को धारा १७ (२८) मा यस एशोसिएसनको तर्फबाट नेपाल बार एशोसिएसनमा भाग लिने उम्मेदवार छनौट गर्न एक छनौट समिति गठन गरि उमेदवारहरु छनौट गरिने बैधानिक ब्यबस्था छ,’ वरिष्ठ अधिवक्ता खनालले अपीलमा भनेका छन्,‘सो व्यवस्थाका विपरित डिएलए नेपाल केन्द्रीय कार्यसमितिले गठन गरेको १३ सदस्यीय उम्मेदवार छनौट समितिलाई जबर्जस्ती गरि उम्मेदवार छनौट गर्न नै नदिई बाहिरबाट उमेदवार छनौट गरिनु दुर्भाग्यपूर्ण छ ।’
उनले डिएलए केन्द्रीय कार्यसमितिको बैठक अबिलम्ब डाकेर नेपाली कांग्रेसको विधानमा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसनलाई शुभेच्छुक संस्थाको रुपमा राखिएको व्यवस्थालाई हटाएर यसको स्वतन्त्र अस्तित्वलाई स्वीकार गर्न कांग्रेस केन्द्रीय कार्यसमितिलाई अनुरोध गर्न माग पनि गरेका छन्।
डिएलएका पदाधिकारी र सदस्यले हस्तक्षेपका विरुद्ध ऐक्यबद्धताका लागि नैतिकतापुर्वक राजीनामा दिएर पाँच महिना भित्र डिएलएको राष्ट्रिय महाधिवेशनको मिति तय गर्न र नेतृत्व हस्तान्तरण गर्न पनि माग राखेका छन् ।
यस्तै, नेपाल बारको निर्वाचनमा उम्मेदवार हुन इच्छुक अध्यक्ष र महासचिवलगायत पदाधिकारीका लागि डिएलए नेपालका महाधिवेशन प्रतिनिधिहरुले डिएलए प्रत्यक्ष रुपमा निर्वाचन गरी उम्मेदवार छनौट गर्ने व्यवस्थाका लागि डिएलए नेपालको विधानमा आवश्यक संशोधन गर्न पनि वरिष्ठ अधिवक्ता खनालको माग छ।
डिएलएलाई कुनै जानकारी नदिई पार्टीपंक्तिमा संगठन कमजोर भएको कुरा पुर्याउँदै ‘हलो अड्काएर गोरु पिट्ने लोकोक्ति चरितार्थ पार्ने काम’ भएको बताउँदै अपीलमा त्यस्ता चरित्रको पहिचान गरी आगामी राष्ट्रिय महाधिवेशनमा भण्डाफोर गर्न पनि अपीलमा भनिएको छ।