जनमत पार्टीका कोषाध्यक्ष यादवमाथि निलम्वनको कारबाही
यादवलाई केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोध्दै पार्टीबाट निलम्बनको निर्णय गरेको हो।
काठमाडौं, फागुन २५ : जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव निलम्बन भएका छन्। यादवलाई केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोध्दै पार्टीबाट निलम्बनको निर्णय गरेको हो।
यादवलाई अनुशासन समितिले चार बुँदै स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण पत्रमा यादवलाई सातको समय दिइएको छ। उक्त अवधिसम्मका लागि पदबाट निलम्बन रहने भनिएको छ।
स्पष्टीकरण पत्रमा पार्टीको राष्ट्रिय कोषाध्यक्ष जस्तो ठूलो पदमा दिनहुँ काम पर्ने जिम्मेवारीमा बसेर अधिकांश समय विदेशमा बिताउने गरेको, पार्टीको महत्वपूर्ण बैठक र कार्यहरुमा सहभागी नभएको, गैरआवासीय मधेशी संघको कोषाध्यक्षसमेत रहे पनि हिसाब माग्दा नदिएको र झूटा हिसाब देखाउने गरेको आरोप अनुशासन समितिले लगाएको छ।
यसैगरी, पार्टीको विरोधमा सामाजिक सञ्जालमा पोष्ट गरेको, पार्टी फोड्न गुटबन्दी गरेको, सप्तरी १ र २ मा नेता कार्यकर्ता भड्काएर निष्क्रिय बनाएको, त्यहाँको उम्मेदवार डा. जयकान्त राउत, राष्ट्रिय अध्यक्ष डा. सीके राउत र बारा– २ को उपनिर्वाचनमा पनि पार्टीका उम्मेदवारलाई हराउने षड्यन्त्र गरेको लगायतका आरोप समेत स्पष्टीकरण पत्रमा लगाइएको छ।
उनलाई पार्टीबाट निष्कासन गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोधिएको अनुमान गरिएको छ।












