Kathmandu Press

सिनेमा उद्योगमा महिलाको उचाइ र कठिन यात्रा

पछिल्लो समय सिने उद्योगमा महिलाहरुको उपस्थिति बाक्लिन थालेको छ। यो क्षेत्रमा राम्रो स्थान बनाउन सफल हुँदै गएका छन्, र सफल पनि भएका छन्।
सिनेमा उद्योगमा महिलाको उचाइ र कठिन यात्रा

काठमाडौं, फागुन  २४ : पुरुषप्रधान नेपाली समाजमा चलचित्र क्षेत्र चुनौतीपूर्ण उद्योग हो। जहाँ महिला निर्माता र कलाकारहरुले आफ्नो स्थान बनाउनु भनेको निकै ठूलो सफलता हो।

तर, पछिल्लो समय सिने उद्योगमा महिलाहरुको उपस्थिति बाक्लिन थालेको छ। यो क्षेत्रमा राम्रो स्थान बनाउन सफल हुँदै गएका छन्, र सफल पनि भएका छन्। जसका कारण सिने उद्योगमा परिवर्तन र प्रगति देख्न थालिएको छ। 

नेपाली चलचित्र उद्योगमा महिला निर्माता बन्नु भनेको एक साहसिक कदम हो। यसमध्ये कल्पना आचार्य यसका उदाहरण हुन्। 

Hardik ivf

‘महिलालाई चलचित्र क्षेत्रमा काम गर्न अझै समस्या छ । विशेषगरी फिल्म निर्माण गर्दा निकै तनाव व्यहोर्नुपर्छ। परिवारको सल्लाह र समर्थन बिना एक महिला निर्माता आफूलाई सफल बनाउन सक्दैन,’ उनी भन्छिन्।

२० वर्षअघि फिल्म बनाउने निर्णय गर्दा भोगेको तिरस्कार र कटु अनुभव उनको मनसपटलमा अझै ताजै छ। ‘अहिले अवस्था सहज बन्दै छ, तर २ दशकअघि निकै कठीन थियो। ठूलै संघर्ष गरियो,’ उनी भन्छिन्। 

पहिलो फिल्म एकता निर्माण गर्दा २ दिन पुलिस हिरासतमा बस्नु परेको अनुभव पनि उनीसँग छ। अहिले अवस्था केही सहज भएपनि पूर्ण रुपमा सकारात्मक नभएको उनको अनुभव छ। 

‘निर्माता भएर चलचित्र क्षेत्रमा काम गर्न धेरै नै गार्हो छ । पहिलाको तुलनामा अहिले अलि सहज हुन थालेको छ । पुरुषको तुलनामा अझैं पनि धेरै कठिनाइहरु महिलालाई छ । समाजले अनेकथरि कुराहरु गर्दा परिवारको समेत साथ पाइनँ, त्यसले झन गाह्रो बनायो,’ निर्माता कल्पना भन्छिन्।

कल्पनाजस्तै रश्मि भट्ट पनि झण्ठै साढे तीन दशकले नेपाली फिल्म उद्योगमा सक्रिय छिन्। सुरुआती दिनमा कल्पनाले जस्तै संघर्ष र अप्ठ्यारोहरूको सामना रश्मीले पनि गरेकी छिन्। 

समस्या र अप्ठ्याराहरु सबैक्षेत्रमा उत्तिकै भएपनि चलचित्र क्षेत्रमा काम गर्न अलि गाह्रो रहेको उनको अनुभव छ।

‘समस्या धेरै झेलियो, अब सहजीकरण गर्दै जानुपर्छ। अप्ठ्यारो परिस्थिति हरेक क्षेत्रमा हुन्छ, तर कलाकारिता क्षेत्रमा त यी समस्याहरु अझ बढी छन् । काम गर्न गाहे छ तर आफैलाई सहज बनाउन प्रयास गर्दैछौं,’ रश्मी भन्छिन्।

महिला कलाकारलाई पुरुषको तुलनामा कम पारिश्रमिक दिइनेप्रति पनि उनको गुनासो छ। यौनजन्य हिंसाको पनि भोग्नु परेको उनले बताइन्। 

‘महिला कलाकारको पारिश्रमिक पुरुषको तुलनामा अझै कम हो। कामका सिलसिलामा धेरै अनैतिक गतिविधिहरुको सामना गर्नुपर्ने हुन्छ। काम गर्दा शरीरमा आफ्नै पुरुष सहकर्मीले हात लगाउँदा मैले एउटा सिरियल नै छोडेको छु,’ उनी भन्छिन्।

नेपाली समाजमा रहेको महिलाहरु कमजोर हुन्छन् भन्ने मानसिकता फिल्मी क्षेत्रमा पनि व्याप्त रहेको संगिता श्रेष्ठ बताउँछिन्। महिला र पुरुष कलाकारबीचको पारिश्रमिकको भिन्नता समस्याक रुपमा रहेको उनको तर्क छ। 

‘महिलाहरु कमजोर छन् भन्ने मानसिकता समाजमा अझै व्याप्त छ । कतिपय अवस्थामा पारिवारिक कारणले महिलाहरु फिल्म क्षेत्रबाट टाढा जानुपर्ने स्थिति आउँछ । पुरुष र महिलाले समान संघर्ष गर्छन् तर महिलाहरु अझै पारिश्रमिकको हिसाबले कम पाउँछन्,’ उनी भन्छिन्।
तर सबैले यस विषयमा आवाज उठाउँदा मानसिकता परिवर्तन हुने र महिलाको संघर्ष एवम् मेहनतले न्याय पाउने विश्वास उनको छ।

यसैगरी अभिनेत्री थिन्ले ल्हामोले पनि महिलाहरुको क्षमता र शक्तिबारे दृढ विश्वास व्यक्त गरिन्। उनी भन्छिन्, ‘महिला कमजोर छैनन्। हरेक काम पुरुषजस्तै गर्न सक्छन् । जटिल कामलाई सबैले रमाइलो तरिकाले लिनुपर्छ।’ 

पुरुषको मात्र नभइ महिलाहरुको मानसिकता समेत परिवर्तन गर्न आवश्यक रहेकोमा उनको जोड छ। 

‘महिलाहरुको मेन्टालिटी परिवर्तन गर्न आवश्यक छ। महिलाहरु बलियो, साहसी छौं । महिला कमजोर छन् भन्ने सो पहिला परिवर्तन गर्न आवश्यक छ। पुरुषभन्दा पनि महिलाहरुको मेन्टालिटी परिवर्तन गर्न आवश्यक छ,’ उनी भन्छिन्।
 

प्रकाशित मिति: १६:३८ बजे, शनिबार, फागुन २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्