एमाले मोरङ अध्यक्षमा ओली पक्षलाई हराउँदै अजम्बर राईको प्यानलै विजयी
नेकपा (एमाले)को मोरङ जिल्ला कार्यसमितिको पदाधिकारीमा अजम्बर राईको प्यानलै विजयी भएको छ।
काठमाडौं, फागुन २३ : नेकपा (एमाले)को मोरङ जिल्ला कार्यसमितिको पदाधिकारीमा अजम्बर राईको प्यानलै विजयी भएको छ।
बुधबार भएको मतदानको मतगणना शुक्रबार सकिँदा पदाधिकारीमा राईको प्यानलै विजयी भएको हो। राई नेता विनोद ढकाल समूहका हुन्। उनी जिल्ला समन्वय समिति मोरङका प्रमुख हुन्।
शुक्रबार बेलुका सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार राई ४४६ मत प्राप्त गर्दै मोरङ अध्यक्ष निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी राजकुमार ओझाले ४०७ मत ल्याए। ओझा संस्थापन पक्षका हुन्।
उपाध्यक्षमा सागर थापा ४४२ मत प्राप्त गर्दै निर्वाचित भए। संस्थापनकी शान्ति लिम्बूल् ३९१ मत पाइन्।
त्यस्तै सचिवमा राई प्यानलकै सोमराज थापा ४६२ मत प्राप्त गर्दै निर्वाचित हुँदा संस्थापनका रविन थापाले ३६८ मत ल्याए।
उपसचिवमा सन्तोष वान्तवाले ४९० मत ल्याए भने संस्थापनका इरजालाल राजवंशीले ३११ मत ल्याए।
अर्की उपसिचिवमा उषा झा ४१८ मतसहित विजयी हुँदा संस्थापनकी शिल्पा कार्कीले ४०५ मत पाइन्।
पाँच पदाधिकारीसहित १६५ सदस्यीय कमिटीमा ७४ जना निर्विरोध निर्वाचित भएका थिए।
९४ पदका लागि १८१ जनाको उम्मेदवारी परेको थियो। ९११ प्रतिनिधिहरूमध्ये ८८८ जनाले मतदान गरेका थिए।












