देशको ध्यान मधेसमा केन्द्रित छ : अध्यक्ष दाहाल
अन्य प्रमुख दलका मुख्य नेता र राष्ट्रिय मिडियाको ध्यान मधेसतिर केन्द्रित हुन थालेको उल्लेख गर्दै अध्यक्ष दाहालले यसले मधेसका समस्या पहिचानमा फाइदा नै पुग्ने बताए।-(25)-1741350930.jpeg)
सर्लाही, फागुन २३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका कारण देशकै ध्यान मधेसमा केन्द्रित भएको बताएका छन्।
जनतासँग माओवाद, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मधेसका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने उद्देश्यसहित आफ्नो पार्टीले अभियान सुरु गरेको बताए।
अन्य प्रमुख दलका मुख्य नेता र राष्ट्रिय मिडियाको ध्यान मधेसतिर केन्द्रित हुन थालेको उल्लेख गर्दै अध्यक्ष दाहालले यसले मधेसका समस्या पहिचानमा फाइदा नै पुग्ने बताए।
मधेसी जनताले भोगेको विभेद र अपमान मधेशको मात्रै नभइ देशकै समस्या भएकाले मधेसी जनताको पहिचान, अधिकार र आर्थिक सामाजिक रुपान्तरण देशकै मुद्दा भएको बताए।
अध्यक्ष दाहालले झापाबाट सुरु भएको अभियान सर्लाही पुग्दासम्म जनतामा ठूलो उत्साह देखिएको उल्लेख गर्दै यो अभियान कन्चनपुर पुगेर सकिँदासम्म तराई मधेस जुरुक्कै उठ्ने विश्वास व्यक्त गरे।
समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेसी जनतको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष दहालले स्पष्ट पारे।
उनले अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामाकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित हुने होइन भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने बताए।












