संसदमा उठ्यो ‘सरकारले नियतवश र पूर्वाग्रही भएर दुःख दिएकोदेखि विकासमा विभेद’को विषय
यता, सांसद अर्जुननरसिंह केसीले नेप्सेमा बिचौलिया हावी भएको गुनासो गरे। ‘नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा बिचौलिया हावी भएका छन्, निजी क्षेत्रलाई नयाँ स्टकको लाईसेन्स दिनुअघि नेप्सेको पुनःसंरचना आवश्यक छ,’ उनले भने।
काठमाडौं, फागुन २२ : प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नेक्रममा सांसदहरुले शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने गरेको र विकासमा विभेद हुने गरेको गुनासो गरेका छन्।
सांसद अनिसा नेपालीले राजनीतिक अस्थिरताका कारण विकास योजना प्रभावित बनेको बताइन्। उनले विकासमा पनि दलीय विभेद हुनेगरेको गुनासो गरिन्। उनले आगामी नीति तथा कार्यक्रम र बजेट ल्याउँदा विकास योजना छनोट र रकम विनियोजनमा विभेद नगर्न आग्रह गरिन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले कार्यसम्पादनमा शून्य अङ्क दिएर अपमान आरोप सांसद असिम शाहले लगाए। उनले राम्रो गर्नेलाई सरकारले नियतवश र पूर्वाग्रही भएर दुःख दिइरहेको पनि उल्लेख गर्।
यस्तै, सांसद छिरिङ डम्डु लामा भोटेले पनि कुलमानकै विषयमा संसदमा उठाए। उनले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने र बिचौलिया तथा दलाललाई प्रश्रय दिने शैलीमा सरकारले काम गरिरहेको आरोप लगाए।
यता, सांसदछिरिङ ल्हामु लामा (तामाङ)ले सरकारले लोकतन्त्रको धज्जी उडाएको बताए। ‘सरकारले लोकतन्त्रको धज्जी उडाएर मनोमानी रूपमा काम गरिरहेको छ,’ उनले भने, ‘अहिलेका शासकबाटै लोकतन्त्र संकटमा परेको छ।’
सांसद अम्मरबहादुर थापाले मुलुकको हितमाभन्दा पनि कुनै व्यक्ति वा समूहलाई लाभ मिल्ने गरी बजेटमा योजना पारिने गरेको गुनासो गरे। उनले शिक्षा, स्वास्थ्य, कृषिलगायत उत्पादनका क्षेत्रमा बजेट केन्द्रित गरिनुपर्ने बताए।
यता, सांसद अर्जुननरसिंह केसीले नेप्सेमा बिचौलिया हावी भएको गुनासो गरे। ‘नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा बिचौलिया हावी भएका छन्, निजी क्षेत्रलाई नयाँ स्टकको लाईसेन्स दिनुअघि नेप्सेको पुनःसंरचना आवश्यक छ,’ उनले भने।
सांसद अशोककुमार चौधरीले थारुहरुको हकका लागि भएका व्यवस्थाको कार्यान्वयन हुन नसकेको बताउँदै थारु समुदायको पहिचान र अधिकारको सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराए।
सांसद आश्माकुमारी चौधरीले दाङमा निर्माणाधीन सडक पुलमा भएको ढिलासुस्तीको विषयबारे गुनासो गर्दा सांसद आशा विकले बाँकेमा औद्योगिक क्षेत्र घोषणा भएका स्थानको जग्गा विवाद चाँडो टुंग्याउन सम्बन्धित निकायको ध्यानकर्षण गराइन्।
सांसद ईश्वरबहादुर रिजालले पछिल्ला दिनमा संसद्मा अशिष्ट, संसदीय र अमर्यादित शब्द प्रयोग गर्ने क्रम बढेको गुनासो गरे।
सांसद ईश्वरी घर्तीले अध्यादेश पारित गर्दा सत्तापक्षसँगका सांसद माथि सांसद किनबेचको आरोप पुष्टी गर्न चुनौती दिइन्। उनले भनिन्, ‘अध्यादेश पारित गर्नका लागि सांसद किनबेच भएको र आर्थिक चलखेल भयो भनेर संसद्मै विषय उठेको बताउनुहुँदै उहाँले यस्तो आरोपमा सत्यता नरहेको स्पष्ट छ।’
यता, बिहीबारको बैठकमा सांसद उर्मिला माझी र डा. चन्दा कार्की भण्डारीले मेलम्ची खानीपानी आयोजनाको पाइप फुटेको विषय उठाए। ‘मेलम्चीका पाइप पटक–पटक फुटेर त्यसले पारिरहेको असर परेको छ, कसको कमजोरीका कारण पटक–पटक पाइप फुटेको हो भनेर छानबिन गरिनुपर्छ,’ सांसद माझीले भनिन्।
सांसद डा. कार्की भण्डारीले मेलम्ची खानेपानीको मुहान असुरक्षित र वितरण प्रणाली अस्तव्यस्त रहेको बताउँदै पाइपको गुणस्तर कमजोर रहेको हुनसक्ने बताउँदै गुणस्तर परीक्षणका लागि प्रयोगशाला स्थापना गरिनुपर्ने धारणा राखिन्।
सांसद कान्तिका सेजुवालले नेपालमा प्रयोग भइरहेको नुनमा आयोडिनको मात्रा बढी भएको बताउँदै सरकारी प्रयोगशालामा परीक्षण गर्दा अत्यधिक मात्रामा आयोडिन रहेको पुष्टि भएको र यसले स्वास्थ्य समस्या निम्ताउन सक्ने बताइन्।
सांसद गणेश पराजुलीले बिहीबारको बैठकमा चक्रपथको दोस्रो खण्डको निर्माणमा ढिलाइ भएको विषय उठाए। उनल्े नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र कारबाही प्रक्रिया कहाँ पुगेको छ? भनेर समेत उनले सरकारलाई प्रश्न गरे।
सांसद गोकुलप्रसाद बाँस्कोटाले बाढी पहिरोको जोखिम भएका बस्ती सार्नका लागि सुरक्षित स्थानमा जमिनको व्यवस्था मिलाइनुपर्ने बताए। उनले काभ्रेका विभिन्न स्थान बाढीको जोखिममा रहेकाले त्यहाँका बासिन्दालाई अन्यन्त्र सार्न अति आवश्यक रहेको उल्लेख गरे।
सांसद चन्द्रकान्त भण्डारीले सरकारमा रहेका व्यक्तिलाई प्रश्न गरेकै आधारमा पत्रकारको पास रद्द गरिनु उचित नभएको छ। यो विषयमा अर्का सांसद रामहरि खतिवाडाले पनि बोलेका थिए। उनले उनले पत्रकारहरूले प्रश्न गरेकै आधारमा पत्र खोसिएको विषयमा पनि सत्य तथ्य सदनलाई जानकारी गराउन माग गरे।












