‘प्रधानमन्त्रीले देशका लागि नभइ आफ्नो क्षेत्रका लागि पैसा मागे’
एउटा निर्वाचन क्षेत्रको जनताले सांसदका लागि भोट हालेर पठाएकाहरुले आफैं मिलेर खाने र कुर्सी नछाड्ने परिपाटी रहेको उनले उल्लेख गरे।
काठमाडौं, फागुन २२ : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा आफ्नो निर्वाचन क्षेत्रमा रंगशाला बनाउनको लागि विदेशीसँग पैसा मागेर आएको बताएका छन्।
बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीले देशको उद्योग, कलकारखाना, सडकका लागि होइन आफ्नो निर्वाचन क्षेत्र झापामा रंगशाला बनाउनको लागि विदेशीको अगाडि पैसा मागेको बताए।
सांसद शाहीले एउटा निर्वाचन क्षेत्र जितेपछि प्रधानमन्त्री बन्ने व्यवस्थाले जनतालाई प्रतिनिधित्व नगर्ने पनि बताए।
‘देशको प्रधानमन्त्री विदेश भ्रमण जानुभयो। देशको प्रधानमन्त्रीले देशको उद्योग, कलकारखाना, रोडको लागि बजेट ल्याउनुहुन्छ, विदेशीसँग पैसा माग्नुहुन्छ भनेर हामीले सोचेका थियौं। उहाँले आफ्नो निर्वाचन क्षेत्र झापामा रंगशाला बनाउनको लागि विदेशीको अगाडि पैसा माग्नुभयो,’ उनले भने, ‘एउटा निर्वाचन क्षेत्र जितेपछि प्रधानमन्त्री बन्ने व्यवस्था राम्रो भएन। यसले जनतालाई प्रतिनिधित्व गर्दैन।’
एउटा निर्वाचन क्षेत्रको जनताले सांसदका लागि भोट हालेर पठाएकाहरुले आफैं मिलेर खाने र कुर्सी नछाड्ने परिपाटी रहेको उनले उल्लेख गरे।
‘देशका ७७ वटा जिल्ला मध्ये ७६ जिल्लाका जनताले अझ भन्ने हो भने १६५ वटा निर्वाचन क्षेत्रमा १६४ वटा निर्वाचन क्षेत्रका जनताले केपी ओलीलाई प्रधानमन्त्रीको लागि भोट हालेको होइन। उहाँलाई एउटा निर्वाचन क्षेत्रको जनताले त्यो पनि प्रधानमन्त्री होइन् सांसदका लागि भोट हालेको हो। तर संविधान कस्तो बनाए भने आफैं मिलेर खाने, कहिले हटाउन नमिल्ने बनाए,’ उलने भने, ‘¥याल काट्दै पनि प्रधानमन्त्रीको कुर्सी छाड्न नमिल्ने बनाए। पाँचौ पटकसम्म प्रधानमन्त्री बन्ने तर देशका ५५ लाखभन्दा बढि युवा अरुको देशमा काम गर्न जानुपर्ने बाध्यता छ।’
उनले देश गणतन्त्रले होइन् राजा र जनता मिलेर बनाएको भन्दै अभिभावक बिनाको घर र राजा बिनाको देश कहिल्यै राम्रो हुन नसक्ने पनि दावी गरे।












