स्पष्टीकरणको अर्थ छैन, ५/६ वटा दिइसकेँ : कुलमान घिसिङ
घिसिङले भने, ‘आज हो कि भोलि हो भन्ने हल्ला तपाईंहरूले सुन्नुभएकै होला । तर, भए पनि अन्तिम मिनेटसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो। मलाई ० दिए पनि, १०० दिए पनि त्यसले कुनै फरक पर्दैन।’
काठमाडौं, फागुन २१ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले ५/६ वटा स्पष्टीकरण दिइसकेको बताउँदै त्यसको कुनै अर्थ नरहेको बताएका छन्।
बुटवलमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले आफूले ५-६ वटा स्पष्टीकरण दिइसकेको बताए।
घिसिङले भने, ‘आज हो कि भोलि हो भन्ने हल्ला तपाईंहरूले सुन्नुभएकै होला । तर, भए पनि अन्तिम मिनेटसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो। मलाई ० दिए पनि, १०० दिए पनि त्यसले कुनै फरक पर्दैन।’
उनले राष्ट्रिय जिम्मेवारी लिएर काम गरिरहँदा जतिसुकै स्पष्टीकरण खानुपरे पनि अन्तिम घडीसम्म काम गर्न सक्ने ताकत राख्नुपर्ने भनाइ पनि राखे।
उक्त कार्यक्रममा घिसिङले आफू कार्यकारी निर्देशक भएपछि लोडसेडिङ समाप्त भई देशभर करिब ९९ प्रतिशत स्थानमा २४ घण्टा बिजुली पुगेको दाबी समेत गरे।
ऊर्जा मन्त्रालयले घिसिङलाई प्राधिकरणबाट हटाउने प्रयोजनका लागि पटक–पटक स्पष्टीकरण मागेको छ।
उनलाई कार्यसंपादनमा शून्य अंक दिइएको छ।
घिसिङले आफ्नो कार्यसम्पादन उत्कृष्ट रहेको दाबी समेत गरे । उनले यसअघि कार्यसंपादनमा ९८ अंक दिनुपर्ने भन्दै उर्जा मन्त्रालयमा कार्यसंपादनको फहेरिस्त बुझाएका थिए।












