‘संसदको छलफल निरंकुश भए लोकतन्त्र खोज्न कहाँ जाने?’
अर्थमन्त्री पौडेलले सदनमा प्रस्तुत हुने विधेयकमाथि विरोध र समर्थन हुने बताउँदै छलफल गरेर संसद्ले उचित निर्णय गर्ने बताए।
काठमाडौं, फागुन २१ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले संसद्मा भएको छलफल निरङकुस भए लोकतन्त्र खोज्न कहाँ जाने भन्ने प्रश्न गरेका छन्।
संसदमा पेस भएका अध्यादेशको बिषयमा प्रतिपक्षी दलले निरङकुशताको आरोप लगाएपछि जवाफ दिनेक्रममा अर्थमन्त्री विष्णु पौडेलले उक्त भनाई राखेका हुन्। उनले संसदमा पेस भएका विधेयकहरूको प्रक्रियामा त्रुटि नभएको दाबी पनि गरे।
बुधबार प्रतिनिधिसभामा पेश भएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८१’ लाई लिएर माओवादी केन्द्रलगायतका विपक्षी सांसदले निरङकुशताको आरोप लगाएका थिए।
अर्थमन्त्री पौडेलले सदनमा प्रस्तुत हुने विधेयकमाथि विरोध र समर्थन हुने बताउँदै छलफल गरेर संसद्ले उचित निर्णय गर्ने बताए।
‘हामी राम्रो संवैधानिक अभ्यासमा छौँ। अध्यादेश सदनमा आउँछ, छलफल हुन्छ। समर्थन हुन्छ, विरोध हुन्छ। सभाले विवेक प्रयोग गरेर उचित ढङ्गले निर्णय गर्छ। त्यही प्रक्रियामा हामी छौँ,’ पौडेलले जवाफ दिँदै भने।












