‘मानव अधिकारको रक्षा र मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ’
प्रधानमन्त्री ओलीले मानवअधिकार उल्लंघन गर्नेलाई कानुनको दायरामा ल्याउने बताउँदै जनतालाई सुखी र समृद्ध बनाउनका लागि यथार्थरुपमा मानव अधिकार स्थापित हुनुपर्छ भन्नेमा स्पष्ट रहेको उल्लेख गरे।
काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी ओलीले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बुधवार राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले मानव अधिकारका लागि आन्दोलन गर्ने दुई ठुला दलको सहभागीतामा अहिलेको सरकार बनेकाले यसले मानव अधिकारको उल्लंघन हुन नदिन र कानुनी शासनको पालना गर्नमा विशेष महत्व दिने बताए।
‘अहिले व्यवस्थामा परिवर्तनसँगै अवस्थामा परिवर्तन भइसकेको तर फेन्सी (नक्कली) मानव अधिकारका कुरा गर्नेहरु पनि देखिएका छन्। सरोकार नभएको, अर्थ र मर्म थाहा नभएको वा थाहा पाएर पनि बोल्नका लागि बोल्नेहरु छन्,’ उनले भने, ‘सत्य कुरा बोल्दा मानव अधिकार रक्षकहरुलाई अमानवीय धम्की दिने असामाजिक क्रियाकलाप भएका छन्।’
प्रधानमन्त्री ओलीले मानवअधिकार उल्लंघन गर्नेलाई कानुनको दायरामा ल्याउने बताउँदै जनतालाई सुखी र समृद्ध बनाउनका लागि यथार्थरुपमा मानव अधिकार स्थापित हुनुपर्छ भन्नेमा स्पष्ट रहेको उल्लेख गरे।
लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका शहिदहरुको त्याग र बलिदानबाट आज मुलुकमा मानव अधिकार सुनिश्चितताको स्थिति भएको उनले उल्लेख गरे।
पञ्चायती शासनविरुद्धको आन्दोलनका क्रममा जेल सार्ने बहानामा विसं. २०२९ आजकै दिन झापाको सुखानीको जंगलमा लगेर हत्या गरिएका शहिदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठ तथा अन्य कालखण्डका शहिदहरुलाई सम्झँदै प्रधानमन्त्री ओलीले जनताको अधिकारका लागि लागेकालाई मुत्युदण्ड दिने त्यस्ता शासकका पक्षधरहरुले राजतन्त्र ब्युँताउने कुरा गर्नु स्वीकार्य नभएको बताए।
उनले आफू स्वयंले कठोर जेल यातना भोगेकाले अहिलेको सरकारको पहिलो कर्तव्य मानव अधिकारको रक्षा हुने स्पष्ट गर्दै विश्वयुद्ध प्रारम्भ हुँदाताका नै नेपालमा मानव अधिकारको अभियान प्रारम्भ भएको स्मरण गरे।
प्रधानमन्त्री ओलीले कागजमा लेखिएको मानव अधिकारले खान लाउन नदिने भएकाले गरिबी र भोकमा तड्पिएका बालबालिका र सबैले खाना लाउन पाउने अधिकारका लागि आफूहरुले काम गर्नुपर्नेमा जोड दिए। उनले नेपालले मुत्युदण्डको सजायको व्यवस्था नअपनाउने स्पष्ट गर्दै दोषका आधारमा कडा भन्दा कडा सजाय दिन सकिने बताए।












