न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी
कतिपय गैरसरकारी अस्पतालहरूले न्यूनतम पारिश्रमिक पनि नदिएको विषय जानकारीमा आएको भन्दै प्रधानमन्त्रीले ओलीले आपत्ति जनाए।-(32)-1741080071.jpg)
काठमाडौं, फागुन २० : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राम्रो काम गर्न खोज्दा त्यसको विरोध र झुटो आरोप लगाउने लहर चलेको बताएका छन्।
ट्रेड युुनियन आन्दोलनको ७८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफूहरु सरकारमा हुँदा नाटक गरेर समय विताउने र अर्कोले गर्न खोज्यो भने त्यसलाई कसरी असफल बनाउन सकिन्छ भनेर बस्ने प्रवृत्ति रहेको बताए।
‘नेपालमा एउटा लहर के छ भने राम्रो काम गर्न कसैले खोज्यो भने त्यसको विरोध गर्ने झुटो आरोप लगाउने लहर नै छ। कुनै सरकारले राम्रो काम गर्न खोज्यो भने त्यसलाई गर्न नदिने, आफू सरकारमा भयो भने ड्रामा गर्ने चलन छ,’ उनले भने ‘अर्कोले गर्न खोज्यो भने त्यसलाई कसरी असफल बनाउन सकिन्छ भनेर बस्ने।’
कतिपय गैरसरकारी अस्पतालहरूले न्यूनतम पारिश्रमिक पनि नदिएको विषय जानकारीमा आएको भन्दै प्रधानमन्त्रीले ओलीले आपत्ति जनाए।
‘म चर्चा सुनिरहेको छु, खुद नर्सहरूले पनि न्यूनतम तलब पाइरहेका छैनन्। त्यस्तो हो भने उनीहरू पनि श्रमिक हुन्, फरक होइनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिएर काममा लगाउन कहीँ पनि पाइँदैन । त्यो कानुन लाग्ने विषय बनाउनुपर्छ। पारिश्रमिक कुनै पनि बाहनामा न्यूनतमभन्दा तल दिन पाइँदैन।’
उनले हरेक जनताले समृद्धि र विकास पाउनुपर्छ भन्ने विषयमा सरकारको ध्यान गएको पनि बताए।












