Kathmandu Press

मतदाता नामावलीमा धाँधली भएको भन्दै डिएलएले गर्‍याे केन्द्रीय बार घेराउ 

उच्च अदालत बार एसोसिएसन काठमाडौं जिल्ला अदालत बारका ७११ मतदाताको नाम हटाउन भन्दै दिएको उजुरीका आधारमा नाम हटाउन थालिएको आरोप डिएलएले लगाएको छ। 
मतदाता नामावलीमा धाँधली भएको भन्दै डिएलएले गर्‍याे केन्द्रीय बार घेराउ 

काठमाडौं, फागुन २० : कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)ले मंगलबार नेपाल बार एसोसिएसन निर्वाचन समितिको कार्यालय घेराउ गरेको छ। 

आगामी चैत २३ गते हुने नेपाल बार केन्द्रीय कार्यसमिति निर्वाचनको नामावलीमा धाँधली भएको भन्दै उजुरी परेपछि डेमोक्रेटिक लयर्श एशोसिएसन निकट कानुनव्यवसायीले नेपाल बारको केन्द्रीय कार्यालय घेराउ गरेका हुन्। 

उच्च अदालत बार एसोसिएसन काठमाडौं जिल्ला अदालत बारका ७११ मतदाताको नाम हटाउन भन्दै दिएको उजुरीका आधारमा नाम हटाउन थालिएको आरोप डिएलएले लगाएको छ। 

निर्वाचन समितिले ११ हजार ७७२ जनाको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ। उक्त नामवलीमा सोमबारसम्म दाबी–विरोधको समय तोकिएको थियो। 

डीएलए काठमाडौंका अध्यक्ष सुशीलराज पौडेलले बार काउन्सिलमा अद्यावधिक गरे÷नगरेको सबै नामावली भिडाउनुपर्नेमा बार निर्वाचन समितिले एकपक्षीय रूपमा काठमाडौं बारको मात्र छानबिन गर्न लागेको आरोप लगाएका छन्। जिल्ला बार काठमाडौंले पनि नीतिगत रुपमा सबैको छानबिन गर्न मागसहित उजुरी दिएको छ। 

गत फागुन १५ गते बारको मतदाता नामावली प्रकाशित भएको थियो। नेपाल बारको केन्द्रीय समितिले अनुमोदन गरेर निर्वाचन समितिलाई दिइसकेको छ। काठमाडौं बारले मतदाता नामावलीमा निर्वाचन समितिले एकतर्फी रूपमा काठमाडौं जिल्ला बारको हकमा मात्रै हटाउने तयारी गरेको बताएको छ। 

डिएलएले नेपाल बारको विधानको धारा २५ अनुसार मतदाता नामावली कायम गर्नुपर्ने माग राखेर विरोधमा उत्रिएको हो। साथै, एकतर्फी रूपमा गरेको निर्णय बदर गर्नुपर्ने माग राखिएको छ। 

निर्वाचन समितिले एकतर्फी रुपमा गरेको निर्णय बदर नभए त्यस्बाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार बार निर्वाचन समिति हुने चेतावनी डिएलएले दिएको छ  वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाको नेतृत्वमा बारले निर्वाचन समिति तय गरेको छ। 


 

प्रकाशित मिति: १४:४४ बजे, मंगलबार, फागुन २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्