प्रकृतिको परिवारलाई भेटेर परराष्ट्रमन्त्रीले भनिन्- न्याय दिन्छौं, कुटनीतिक पहल भइरहेको छ
उक्त विश्वविद्यालयमा अध्ययनरत प्रकृतिको यही फागुन ४ गते रहस्यमय मृत्यु भएको थियो।
काठमाडौं, फागुन १९ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाएका छन्।
प्रकृतिको मृत्युपछि शोकमा रहेका उनका बुबाआमा र आफन्तजनलाई आज भैरहवामा भेटेर समवेदना प्रकट गर्दै मन्त्री डा. देउवा र गृहमन्त्री रमेश लेखकले यस्तो बताएका हुन्।
मन्त्री डा. देउवाले मृत्युको प्रकृतिका बुबाआमा र आफन्तजनलाई सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानुनबमोजिम कडा कारबाहीका लागि आफूले सुरुदेखि नै कूटनीतिक पहल जारी राखेको बताएका थिए।
उनले प्रकृतिको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आफूले गत हप्ता ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग कुराकानी गरेको र उक्त घटना भएलगत्तै त्यहाँका उच्च शिक्षा मन्त्रीसँगसमेत कुराकानी भएको जानकारी गराए।
त्यसक्रममा घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पठनपाठनको उचित र सुरक्षित प्रबन्ध गर्न आग्रह गरेको मन्त्री डा देउवाले जानकारी गराए।
प्रकृतिका बुबाआमासँग उनले भनिन्, 'मैले कूटनीतिक माध्यमबाट दोषीमाथि कानुनी कारबाहीका लागि पहल गर्न भारत सरकारसँग आग्रह गरेकी छु र सरकारले यसलाई फलोअप गरिरहेको छ । प्रकृतिलाई न्याय दिलाउने काममा म र गृहमन्त्रीजीले कुनै कसर बाँकी राख्ने छैनौँ ।'
यस विषयमा परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासले ओडिसा सरकार, विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको पनि मन्त्री देउवाले जानकारी दिइन्।
उक्त विश्वविद्यालयमा अध्ययनरत प्रकृतिको यही फागुन ४ गते रहस्यमय मृत्यु भएको थियो।












