Kathmandu Press

के ट्रम्प जेलेन्स्कीलाई युक्रेनको राष्ट्रपतिबाट हटाउन चाहन्छन्?

'हामीलाई हामीसँग सम्झौता गर्न सक्ने नेता चाहिएको छ। सँगै रूससँग पनि सम्झौता गर्न सक्ने नेता आवश्यक छ,' उनले भने।
के ट्रम्प जेलेन्स्कीलाई युक्रेनको राष्ट्रपतिबाट हटाउन चाहन्छन्?

काठमाडौ, फागुन १९ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शान्ति वार्ताका लागि तयार नभए राजीनामा गर्न भनेका छन्।

वाशिङ्टनमा सोमबार एक कार्यक्रममा पत्रकारहरूले ट्रम्प जेलेन्स्कीले राजीनामा गरून् भन्ने चाहन्छन् भनेर सोधेको प्रश्नमा वाल्जले त्यसमा कुटनीतिक उत्तर दिँदै जेलेन्स्कीले राजीनामा दिनुपर्ने आशय व्यक्त गरेका हुन्।

'हामीलाई हामीसँग सम्झौता गर्न सक्ने नेता चाहिएको छ। सँगै रूससँग पनि सम्झौता गर्न सक्ने नेता आवश्यक छ,' उनले भने।

Hardik ivf

उनले ट्रम्प युद्ध अन्त्य गर्दै र शान्ति स्थापनामा जोडबल गरिरहेको समयमा युक्रेन र जेलेन्स्की त्यसका लागि तयार नभएको बताएका छन्।

साउथ क्यारोलिनाका रिपब्लिकन सिनेटर लिन्ड्से ग्राहमले पनि शुक्रबार ह्वाइट हाउसमा भएको भनाभनपछि पनि ट्रम्प जेलेन्स्कीसँगै काम गर्न सक्छन् भन्नेमा प्रश्न रहेको बताएका छन्।

त्यस्तै सभामुख माइक जोनसनले पनि त्यस्तै आशयभाव प्रकट गरेका छन्।

'अब केही परिवर्तन आवश्यक छ। जेलेन्स्की कि त फर्केर पुन बैठकमा बस्नुपर्छ, होइन भने केही अरू नै गर्नुपर्ने देखिन्छ,' उनले भने।

डेमोक्र्याटिक पार्टी निकटका स्वतन्त्र सिनेटर बर्नाई स्यान्डर्स भने जेलेन्स्कीले राजीनामा गर्नुपर्ने भनाइको विपक्षीमा अभिव्यक्ति दिएका छन्।

'मलाई लाग्छ कि यो एउटा भयानक सुझाव हो। जेलेन्स्कीले आफ्नो देशमा आक्रमण गर्ने अधिनायकवादी तानाशाह पुटिनविरुद्ध लोकतन्त्रको रक्षा गर्ने प्रयास गर्दै देशको नेतृत्व गरिरहेका छन्,' स्यान्डर्सले 'मिट द प्रेस' मा भने।

सोही कार्यक्रममा ओक्लाहोमाका रिपब्लिकन अमेरिकी सिनेटर जेम्स ल्याङ्कफोर्डले जेलेन्स्कीको राजीनामा मागसँग सहमत नभएको बताए।

युक्रेनी राष्ट्रपति जेलेन्स्की शुक्रबार ट्रम्पलाई भेट्न ह्वाइट हाउस गएका थिए। त्यहाँ ट्रम्प र जेलेन्स्कीबीच महत्त्वपूर्ण भनिएको खनिज सम्झौता हुने तय थियो।

ट्रम्पले ह्वाइट हाउसमा अमेरिकी पत्रकाहरूलाई सामुन्ने राखेर जेलेन्स्कीसँग संवाद गरेका थिए। ५० मिनेटजति भएको संवाद सुरूमा सौहार्दपूर्ण थियो।

तर अन्तिम १० मिनेट निकै तनावपूर्ण बन्यो, जतिबेला अमेरिकी उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपतिस्तरीय बैठकमा मर्यादा मिचेर  हस्तक्षेप गरे।

उनले बारम्बार जेलेन्स्कीले ट्रम्पलाई धन्यवाद नदिएको विषय झिके र जेलेन्स्कीसँग बहस गरे। ट्रम्पले यसअघि कसैले गर्न नसकेको कुटनीतिक पहल गरेको बताएपछि जेलेन्स्कीले पुटिनले बारम्बार युद्धविराम उल्लंघन गरेको प्रसंग सुनाएर कस्तो खालको कुटनीतिको कुरा गरेको भनेर भान्सलाई सोधेका थिए।

त्यसपछि भनाभन भएको थियो। भान्सले जेलेन्स्कीलाई तिम्रो देशलाई रूसबाट बचाउने खालको कुटनीति भनेर जवाफ दिएका थिए। भान्सले युक्रेनमा युद्ध लड्न सिपाही नभएको र त्यहाँ समस्या नै समस्या रहेको बताउँदै त्यो समस्याबाट मुक्त गर्ने पनि ट्रम्पको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए।

भनाभनकै क्रममा ट्रम्प पनि जेलेन्स्कीमाथि खनिएका थिए। उनले जेलेन्स्कीले अमेरिका कार्ड खेलेको आरोप लगाउँदै अब अमेरिका नै युद्धविरामको पक्षमा रहेकाले त्यो कार्ड उनीसँग नरहेको बताएका थिए।

त्यतिमात्र होइन जेलेन्स्कीले लाखौं मानसहरूको जीवनसँग खेलेको र तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप पनि लगाएका थिए।

त्यसपछि सवाल जवाफमै ह्वाइट हाउस बैठक सकिएको थियो। संयुक्त पत्रकार पनि रद्द गर्दै ट्रम्प प्रशासनले जेलेन्स्कीलाई ह्वाइट हाउसबाट निकालेको थियो।

त्यसपछि ट्रम्प र जेलेन्स्कीबीचको सम्बन्धमा उतारचढाव आएको र अब ट्रम्प जेलेन्स्कीसँग सहकार्य गर्न चाहँदैनन् भन्ने आकलन गरिएको छ।

यद्यपि युरोपेली मुलुकहरूले ट्रम्प र जेलेन्स्कीबीच सम्बन्ध सुधारको प्रयास गरिरहेका छन्।  जेलेन्स्की आफैले पनि पुनः वार्तामा बस्न चाहेको र खनिज सम्झौता गर्न चाहेको बताउँदै आएका छन्।

-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा

प्रकाशित मिति: १९:५६ बजे, सोमबार, फागुन १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्