सरकारलाई उपेन्द्रको चेतावनी–भूमि अध्यादेश फिर्ता नभए अरु अध्यादेशमा पनि समर्थन गर्दैनौं
‘संसदबाट भूमि सम्बन्धी अध्यादेश फिर्ता नगरुन्जेलसम्म बाँकी पाँच वटा अध्यादेशलाई पनि सहयोग र समर्थन नगर्ने चट्टानी अडानको कारण अहिलेसम्म सरकारले सदनमा अध्यादेश प्रस्तुत गर्न सकेको छैन,’ उनले भने।
काठमाडौं, फागुन १८ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि अध्यादेश फिर्ता नभए अन्य अध्यादेशमा पनि समर्थन गर्न नसकिने बताएका छन्।
पार्टी केन्द्रीय समिति बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष यादवले भूमिसम्बन्धी अध्यादेश जनताको हितमा नरहेकाले त्यो फिर्ता नभए अन्य अध्यादेशमा पनि समर्थन नगर्ने उल्लेख गरे।
‘संसदबाट भूमि सम्बन्धी अध्यादेश फिर्ता नगरुन्जेलसम्म बाँकी पाँच वटा अध्यादेशलाई पनि सहयोग र समर्थन नगर्ने चट्टानी अडानको कारण अहिलेसम्म सरकारले सदनमा अध्यादेश प्रस्तुत गर्न सकेको छैन,’ उनले भने।
उनले संसद् अधिवेशन आह्वान गर्नुपर्ने बेलामा सरकारले महत्वपूर्ण कानुन अध्यादेशमार्फत ल्याउनुका पछाडि सरकारको कुत्सित स्वार्थ तथा मानसिकता देखिएको बताए।
अध्यक्ष यादवले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि देश र जनताको हितमा नरहेको बताउँदै रियल स्टेट र भू–माफिया पक्षपोषण गर्ने खालका व्यवस्था गरेर अध्यादेश ल्याइएको उल्लेख गरे।
‘संसदमा प्रस्तुत भएका ६ विधयेकमध्ये भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश देश र जनताको हितमा नरहेको, रियल स्टेट र भू–माफिया तथा दलालहरको पक्षपोषण गर्ने खालको रहेको, तराईरमधेसको वनजंगल, सार्वजनिक जग्गा, आफ्ना पार्टीका कार्यकर्तामा वितरण गर्ने उद्देश्यका साथ ल्याइएको हो,’ अध्यक्ष यादवले भने।
भूमिसम्बन्धी अध्यादेशमा वास्तविक भूमिहीन, सुकुमवासीले जग्गा प्राप्त गर्न नसक्ने अवस्था रहेकाले त्यो अध्यादेश फिर्ता लिनुपर्ने आफूहरुको माग रहेको उनले बताए।
यसअघि भूमि अध्यादेश बाहेकका पाँचवटा अध्यादेश पारित गर्न सघाउने यादवले बताएका थिए। सरकारले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुपहिले ६ वटा अध्यादेश ल्याएको थियो। राष्ट्रिय सभामा बहुमत नभएका कारण अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न सकेको छैन।











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)