राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आजको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा रहेका सदस्यहरूको हेरफेर गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं, फागुन १८ : संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १२ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा रहेका सदस्यहरूको हेरफेर गर्ने कार्यसूची रहेको छ ।
यस्तै, उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने छन् ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् तथा सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा सभाका अध्यक्ष दाहालले संविधानसभाका सदस्य विदुरप्रसाद सापकोटाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)