दाहाल दाबी– मधेसको समस्या समाधान माओवादीले मात्रै गर्न सक्छ
महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु आदिको पहिचान र अधिकार स्थापित गर्ने दल माओवादी नै भएको स्पष्ट गर्दै अध्यक्ष दाहालले अब मधेसले माओवादीलाई फेरि विश्वास गर्ने बेला आएको बताए।
सिरहा, फागुन १७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनताले भोग्दै आएको विभेद र अपमानको समस्या मधेसको मात्र नभई राष्ट्रकै समस्या भएको र यसको यसको समाधान माओवादीले मात्रै गर्न सक्ने बताएका छन्।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहाको सिरहा नगरपालिकामा आयोजित विशाल खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
मधेसका मसिहा ठान्ने दलहरूले मधेसी जनतामाथि नै घात गरिरहेकाले अब उनीहरूको भ्रमबाट मुक्त हुनुपर्ने बेला आएको उनले स्पष्ट गरे। महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु आदिको पहिचान र अधिकार स्थापित गर्ने दल माओवादी नै भएको स्पष्ट गर्दै अध्यक्ष दाहालले अब मधेसले माओवादीलाई फेरि विश्वास गर्ने बेला आएको बताए।
मधेसी जनता वास्तविक देशभक्त र सीमारक्षकको रुपमा रहेको उल्लेख गर्दै उहाँले उनीहरूको सम्मान गर्नुको साटो अरु देशका नागरिक सरह व्यवहार गर्नु विभेद र अपमान भएकाले यसलाई प्रभावकारी कार्यक्रममार्फत नै अन्त्य गर्न सकिने र त्यसको नेतृत्व माओवादीले मात्रै गर्नसक्ने बताए।
‘माओवादीले जनयुद्धकै क्रममा मधेसी जनताको आत्मनिर्णयको अधिकारलाई स्थापित गर्न मधेस सरकार गठन गरिएको र पार्टीभित्र पहिलोपटक मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेको थियो,’ अध्यक्ष दाहालले भने।
झन्डै १३ सय मधेसी जनताका छोराछोरीले माओवादी जनयुद्धमा बलिदान गरेको पनि उनले बता। जनयुद्ध सुरु गर्दा पहिलोपटक हतियारको तालिम मधेसबाटै सुरु गरेको जानकारी दिंदै अध्यक्ष दाहालले आफूले पहिलोपटक हतियारको तालिम धनुषा र सिरहाबाटै लिएको स्मरण गरे।
२०६४ सम्म आउँदा मधेस माओवादीमय भएको तर पार्टी एकता बचाउन नसक्दा र गौरहत्याकाण्ड जस्ता विभिन्न षड्यन्त्रका कारण मधेसी जनतामा माओवादीप्रति भ्रम पर्न गएको र यही भ्रम हटाउन अहिले तराई मधेस जागरण अभियान लिएर आएको उनले स्पष्ट गरे।
नेपालको इतिहासमै पहिलोपटक राजनीतिक दलको तर्फबाट हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरिएको उल्लेख गर्दै उनले देशको होचो स्थान कचनकवलबट सुरु गरिएको यो अभियानको दोस्रो संस्करण मध्यपहाडी लोकमार्ग हुँदै देशको अग्लो भूभाग रहेको सोलुखुम्बुमा गएर समापन गरिने जानकारी दिए।
अध्यक्ष दाहालले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रुपरेखा फेर्न सहयोग गर्ने बताए। लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिए।











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)