Kathmandu Press

शिक्षा समाज र व्यक्तिको जीवनसँग जोडिन पर्छ : देवराज घिमिरे 

अहिले संघीय संसदमा विद्यालय शिक्षा सम्बन्धी विधेयक छलफलमा रहेको बताउँदै सो ऐनले परिवर्तित राजनीतिक सन्दर्भलाई समेट्ने उनले विश्वास व्यक्त गरे। 
शिक्षा समाज र व्यक्तिको जीवनसँग जोडिन पर्छ : देवराज घिमिरे 
फाइल तस्बिर।

रामेछाप, फागुन १७ : सभामुख देवराज घिमिरेले शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनुपर्ने बताएका छन्। 

शनिबार रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीको श्री मावि ज्यामिरेखानीको स्वर्णमहोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले शिक्षाले समाज र व्यक्तिको जीवनमा सुधार ल्याउनुपर्ने बताए।  शिक्षा व्यक्ति र समाजको प्रगतिको आधार बन्नुपर्ने उनले बताए। 

घिमिरेले नेपालको शिक्षा अहिले पनि व्यवहारोपयोगी हुन नसकेको बताए। शिक्षा नेपाली जनताको प्रगतिको कारक बन्नुपर्ने उनको धारणा छ । ‘हाम्रो शिक्षा अहिले पनि व्यवहारिक बन्न सकेको छैन’, उनले भने। 

घिमिरेले प्राविधिक र गुणस्तरीय शिक्षा आजका आवश्यकता भएको बताए। अहिले संघीय संसदमा विद्यालय शिक्षा सम्बन्धी विधेयक छलफलमा रहेको बताउँदै सो ऐनले परिवर्तित राजनीतिक सन्दर्भलाई समेट्ने उनले विश्वास व्यक्त गरे। 

समाज परिवर्तनको पहिलो आधार शिक्षा भएको बताउँदै घिमिरेले स्थानीय विशेषताको आधारमा विकासका काम अघि बढाउनु पर्नेमा जोड दिए। विकासमा राजनीतिक दल र नेताहरूको भूमिका महत्पूर्ण हुने बताउँदै घिमिरेले त्यो भूमिका राजनीतिक दल र नेतृत्वबाट हुनुपर्ने बताए। 

कार्यक्रममा लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महतले समग्र गाउँपालिकाको स्थितिको बारेमा जानकारी गराएका थिए। सो गाउँपालिकाको विकास र समृद्धिमा सहयोगी भूमिका निर्वाह गरिदिन उनले सभामुखलाई अनुरोध गरे। 
 

प्रकाशित मिति: १५:४७ बजे, शनिबार, फागुन १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्