Kathmandu Press

चोर ठानेर दम्पतीले मरणासन्न हुनेगरी कुटे, रहेछ आफ्नै छोरा

छोराको कुटाइबाट बाबुको करङ भाँचियो, आमाको हात र आँखामा चोट
चोर ठानेर दम्पतीले मरणासन्न हुनेगरी कुटे, रहेछ आफ्नै छोरा

काठमाडौं, फागुन १६ :  मकवानपुरमा बाबु-आमाको कुटाइबाट छोराको मृत्यु भएको छ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका -३ अदुवाबारीका ३९ वर्षीय भरथकुमार भ्लोनको आफ्नो बाबु-आमाको कुटाइबाट मृत्यु भएको हो।

भरथका बाबु ६४ वर्षीय मिनबहादुर भ्लोन र आमा ६३ वर्षीय देवीमायाले बिहीबार राति भरथलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए। यद्यपि उनीहरूले आफ्नो छोरालाई चिन्न नसक्दा कुटपिट गरेका थिए। उनीहरूले भरथलाई चोर ठानेका थिए।

Hardik ivf

मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार भरत बिहीबार करिब ८ बजेतिर अदुवाबारीस्थित आफ्नो बाबु आमा बस्दै आएका घरमा पुगेका थिए।

भरथ काठमाडौं बस्थे। दुई वर्षदेखि उनी घर गएका थिएनन्।

बिहीबार राति घर पुगेका उनले मुखमा मास्क लगाएका थिए। घर पुग्दा मीनबहादुर दम्पती खाना खाने सुरसार गर्दै थिए।

मास्क लगाएको व्यक्ति अचानक घरभित्र छिरेपछि भ्लोन दम्पती के कसो हो भन्ने सोध्नै पाएनन् । घरभित्र छिरेका ती व्यक्तिले भ्लोन दम्पतीमाथि खुर्सानीको धुलो छ्यापे। त्यसपछि  भ्लोन दम्पतीलाई ती व्यक्ति चोर भएको आशंका भयो।

श्रीमान-श्रीमतीले भान्सा कोठामा जे-जे भेट्छन् त्यहीले ती व्यक्तिमाथि प्रहार गरे। आफूमाथि प्रहार भएपछि चोर ठानेका व्यक्ति पनि वृद्धवृद्धामाथि प्रत्याक्रमणमा उत्रिए। तर भ्लोन दम्पतिको अन्धाधुन्ध प्रहारले धेरै बेर टिक्न सकेनन्।

भान्सामा भएका सामानहरूले अन्धाधुन्ध प्रहार गर्दा ती पुरूषको टाउकोमा चोट लाग्यो र गम्भीर घाइते भए। त्यसपछि ती व्यक्तिलाई बाँधेर राखे र दम्पतीले प्रहरीलाई खबर गर्‍यो।

प्रहरीलाई सूचना दिँदा पनि आफ्नो घरमा आएको चोरलाई बाँधेर राखिएको र तत्काल प्रहरी पठाउन पर्‍यो भनेर मिनबहादरले अनुरोध गरेका थिए।

केहीबेरमा प्रहरी अदुवाबारी पुग्यो। घटनास्थल पुग्दा ती युवक बाँधिएर राखिएका थिए भने मीनबहादुर र देवीमाया पनि घाइते थिए। तीनै जनालाई रक्ताम्य अवस्थामा घटनास्थलबाट उद्धार गरी प्रहरीले उपचारका लागि हेटौंडा पुर्‍यायो।

त्यहाँ चेकजाँच गर्दा मिनबहादुरको करङ भाँच्चिएको थियो भने देवीमायाको आँखा र हातमा चोट थियो। गम्भीर अवस्थामा रहेका चोर भनिएका व्यक्तिलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइयो।

भोलिपल्ट अनुसन्धानका क्रममा प्रहरीले वृद्धवृद्धा भएको घरमा चोर जसरी प्रवेश गर्ने व्यक्ति उनीहरूकै छोरा भएको खुलेको थियो।

भरथको शुक्रबार दिउँसो उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए।

अदुवाबारीस्थित घटना भएको घरबाट प्रहरीले भरथको पासपोर्ट भएको झोला बरामद गरेको थियो।

उनी किन चोरजसरी आफ्नै घरमा आए र बाबुआमामाथि आक्रमण गरे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरेहको छ।

दम्पतीले भनेझै साँच्चिकै उनीहरूमाथि आफ्नै छोराले आक्रमण गरेको हो या होइन भन्ने कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मिनबहादुर देवीमायाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १९:५९ बजे, शुक्रबार, फागुन १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्