तीन दशकपछि सवारी तथा यातायात ऐन परिमार्जन हुँदै
सवारी साधन दर्ता नगरी चलाएको पाइएमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रेका लागि पाँच हजार रुपैयाँ जरिवाना तथा साना र मझौला सवारीको हकमा १५ हजार र ठुलालाई ५० हजार रुपैयाँ जरिवाना लगाउने भनिएको छ।
काठमाडौं, फागुन १६ : सरकारले २०४९ सालमा बनेको सवारी तथा यातायात ऐनमा परिमार्जनको तयारी गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ ऐनको मस्यौदा तयार पारिसकेको छ । उक्त ऐनमा सडक सुरक्षादेखि जरिवानासम्ममा कडाइ गरी मोटरसाइकल वा स्कुटरमा चालक र पछाडि बस्ने यात्रुले समेत अनिवार्य हेलमेट लगाउनुपर्नेसम्मका प्रावधान समेटिएका छन् । प्रस्तावित ऐनको मस्यौदामा सवारी साधन चलाउँदा बालबालिकालाई चालकभन्दा अगाडि राख्न नपाइने व्यवस्था समेत छ।
यस्तै, सवारी दर्ता प्रमाणत्रमा उल्लेखित नम्बर प्लेट नराखी चलाएमा १० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म वा ६ महिना कैद सजाय र सवारी समेत जफत गर्ने व्यवस्था पनि छ। अहिलेसम्म यस्तो कसुरमा ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँ वा ६ महिना कैद सजायसँगै सवारी जफत गर्ने व्यवस्था छ।
सवारी साधन दर्ता नगरी चलाएको पाइएमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रेका लागि पाँच हजार रुपैयाँ जरिवाना तथा साना र मझौला सवारीको हकमा १५ हजार र ठुलालाई ५० हजार रुपैयाँ जरिवाना लगाउने भनिएको छ।
दर्ता गरेको भन्दा अन्य प्रयोजनमा प्रयोग गरेमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीलाई दुई हजार रुपैयाँ, मझौलालाई तीन हजार र ठुलालाई पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ । प्रदुषण जाँचपत्र नराखेमा क्रमशः एक हजार, दुई हजार र पाँच हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था छ । यस्तै अनुमति नलिइ सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्र सञ्चालन गरेमा एक लाख रुपैयाँ जरिवानाको व्यवस्था छ।
रुटको अनुमति नलिइ सवारी चलाएमा १० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । कुनै इजाजत प्राप्त नगरी सवारी चलाएमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीलाई ५० हजार रुपैयाँ, मझौला सवारीलाई एक लाख रुपैयाँ र ठुला सवारीलाई दुई लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्था पनि छ । लाइसेन्सविना सवारी चलाएमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रेको हकमा दुई हजार रुपैयाँ, साना तथा मझौला सवारी चलाएमा पाँच हजार रुपैयाँ र ठुला सवारीका लागि १० हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था प्रश्तावित छ।
यस्तै, जाँचपास नगराइ सवारी चलाएमा दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारीका लागि पाँच हजार रुपैयाँ, साना तथा मझौला सवारीका लागि १० हजार रुपैयाँ र ठुला सवारीका लागि १५ हजार रुपैयाँ जरिवाना लगाउने व्यवस्था प्रस्तावित ऐनमा छ।.
व्यावसायिक सवारी चालक अनुमति पत्र प्राप्त गर्न कम्तीमा कक्षा ८ पास भएको हुनुपर्ने, ठुलो सवारी चालक अनुमति पत्र प्राप्त गर्न २३ वर्ष उमेर पूरा हुनुपर्ने, मझौला तथा सानो सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि २१ वर्ष हुनुपर्ने, मोटरसाइकल तथा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीको चालक अनुमति पत्र प्राप्त १८ वर्ष उमेरहद पुग्नुपर्ने, सवारी चालक अनुमतिपत्र १० वर्षको अवधिमा नवीकरण गर्न सकिने, म्याद समाप्त भएको तीन महिनाभित्र नवीकरण गरिसक्नुपर्ने, म्याद समाप्त भएको पाँच वर्षभित्र तोकिएको दस्तुर तथा जरिवाना तिरेर चालक अनुमति पत्र नवीकरण गर्न सकिने, पाँच वर्षसम्म नवीकरण नगरे सवारी चालक अनुमति पत्र स्वतः रद्द हुने जस्ता व्यवस्थाहरु ऐनमा छन्। प्रस्तावित ऐनमा इम्बोस्ड नम्बर प्लेटको समेत वर्गिकरण गरिएको छ।











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)