Kathmandu Press

‘समाजवादोन्मुख समाज बनाउन राष्ट्रिय पुँजीको निर्माण आवश्यक’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाजवादोन्मुख समाज निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण हुनुपर्ने बताएका छन्।
‘समाजवादोन्मुख समाज बनाउन राष्ट्रिय पुँजीको निर्माण आवश्यक’

विराटनगर, फागुन १५ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाजवादोन्मुख समाज निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण हुनुपर्ने बताएका छन्।

विणा फाउण्डेशनद्वारा आयोजित तीनदिने ‘विचार उत्सव’ को आज यहाँ उद्घाटन गर्दै उनले राष्ट्रिय पुँजी निर्माण गर्न कृषि, पर्यटन र ऊर्जाका क्षेत्रमा लगानी आवश्यक रहेको बताए।

मुख्यमन्त्री कार्कीले हिन्दूहरुको आस्थाका केन्द्र पशुपतिनाथ र शान्तिका दूत गौतमबुद्ध जन्मेको स्थान लुम्बिनीमा धार्मिक पर्यटकहरु उतार्न सकियो भने मुलुक निर्माणमा ठूलो सहयोग पुग्ने बताए।

उनले विचार र नीतिको बहसबाट मुलुकलाई समृद्धतर्फ लैजान सकिने धारणा व्यक्त गरे।

उनले आगामी दिन कोशी चतरामा हुने कुम्भमा स्नानका लागि लाखौँ श्रद्धालु एवम् भक्तालुहरु ल्याउने वातावरण निर्माणका लागि सरकारले काम गरिरहेको समेत उल्लेख गरे।

मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख डा राजेश अहिराजले विचारले नै मानिसको संस्कार बुझिने भएकाले असल विचारबाट मात्र असल समाजको परिकल्पना गर्न सकिने बताए।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोशी प्रदेश भूगोल, इतिहास र सम्पदाले समृद्ध रहेको बताए।

कोशी प्रदेशका प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले नागरिक सुरक्षित भएमा मात्र सार्थक विचार आउने भएकाले सुरक्षाकै जगमा समृद्ध हासिल गर्न सकिने कुरामा जोड दिए। 

प्रकाशित मिति: २०:१४ बजे, बिहीबार, फागुन १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्