Kathmandu Press

जनकपुरधामस्थित शहीद गंगालाल हृदय केन्द्रका कर्मचारी आन्दोलित

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, जनकपुरधामका चिकित्सक र कर्मचारीहरू सरकारको समायोजन योजनाविरुद्ध आन्दोलित भएका छन्।
जनकपुरधामस्थित शहीद गंगालाल हृदय केन्द्रका कर्मचारी आन्दोलित

जनकपुर, फागुन १५ : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, जनकपुरधामका चिकित्सक र कर्मचारीहरू सरकारको समायोजन योजनाविरुद्ध आन्दोलित भएका छन्।

कर्मचारीहरूले आफ्नो अधिकार रक्षा गर्न तथा अन्यायपूर्ण निर्णयको विरोधमा आवाज उठाएका हुन्। उनीहरुले विरोधस्वरुप बिहीबार कालो पट्टी हातमा बाँधेर काम गरेका छन्।

सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समायोजन गर्ने योजना अघि सारेपछि कर्मचारीहरू असन्तुष्ट बनेका छन्। उनीहरूका अनुसार उक्त प्रक्रिया निष्पक्ष छैन र कुनै परामर्शबिना जबरजस्ती लागू गर्न खोजिएको छ।

योजना केवल उनीहरूकै अधिकार खोस्न मात्र नभई जनकपुरधामका नागरिकहरूको स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको मुद्दा पनि रहेको कर्मचारीहरूको भनाइ छ।

कर्मचारीहरूका अनुसार समायोजन प्रक्रिया पारदर्शी छैन र यसले उनीहरूको हक र अधिकारमाथि अतिक्रमण गरेको छ । उनीहरू भन्छन्, ‘समायोजनको निर्णयमा हाम्रो कुनै संलग्नता छैन । यो हाम्रो सेवासँग मात्र सीमित छैन। जनकपुरधामवासीका लागि समेत ठूलो असर पार्ने विषय हो।’

सरकारले पारदर्शी तरिकाले यो प्रक्रिया अघि नबढाए सेवाग्राहीहरूलाई समेत असुविधा हुने निश्चित रहेको कर्मचारीहरूको तर्क छ। सेवाका गुणस्तरमा गिरावट आउन सक्ने र बिरामीहरूले समयमा उपचार नपाउने सम्भावना रहेको उनीहरूको भनाइ छ ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुरधामका कर्मचारीहरूले आफ्ना जायज मागहरू सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । यदि मागहरू पूरा नभए थप आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।

उनीहरूले विरोध कार्यक्रमलाई ऐक्यबद्धता जनाउन सबै पक्षसँग सहयोगको अपिल गरेका छन् । आन्दोलनका कारण सेवाग्राहीलाई असुविधा पुगेको स्वीकार्दै उनीहरूले क्षमायाचनासमेत व्यक्त गरेका छन् ।

कर्मचारीहरूले भनेका छन्, ‘हाम्रो मागहरू पूरा नहुन्जेलसम्म हामी शान्तिपूर्ण विरोध जारी राख्नेछौं । यदि सरकार हाम्रो जायज मागप्रति गम्भीर भएन भने आन्दोलनका थप कार्यक्रमहरू अघि बढ्नेछन् ।’

प्रकाशित मिति: १९:५६ बजे, बिहीबार, फागुन १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्