Kathmandu Press

पाल्पामा मगर दिवसको उल्लास

मगर समुदायले विभिन्न परिकार खाने, नाचगान गर्ने, रमाउने गरेर मगर एकता दिवस मनाएका हुन्।
पाल्पामा मगर दिवसको उल्लास

तानसेन, फागुन  १५  : जिल्लामा ४३औँ मगर एकता दिवस गाउँ, टोल, समुदायसम्म खुसियालीका साथ मनाइएको छ।

मगर समुदायले विभिन्न परिकार खाने, नाचगान गर्ने, रमाउने गरेर मगर एकता दिवस मनाएका हुन्।

मगरी परिकार बटुक, चुकाउने, अचार, सेलरोटी, नाम्या, बङ्गुर र कुखुराका मासुका परिकार खाएर रमाइलो गरेका छन्।

Hardik ivf

तानसेनस्थित कैलाशनगरमा भेटिनुुभएकी खगिश्वर मगरले आफ्नो जातीय पहिरनमा सजिन पाउँदा खुसी लागेको बताए।

'यो हामी मगर जातिलाई चिनाउने पोशाक र चिनारी हो, बिर्सनु भएन । अनि पो संस्कृति बाँचिरहन्छ,' उनले भने।

माथागढीकी अनिशा आले सराइमा भएको सांस्कृतिक महोत्सवमा चिटिक्क मगरी परिहनमा देखिइन्।

उनले आफ्नो संस्कृति बचाइ राख्न उत्सवको अवसरमा पोसाक लगाएको बताइन्।

कार्यक्रममा मगर समुदायको भेषभूषा तथा झाँकी गीत र नृत्यले दिवसलाई रौनकता थपे।

'मगर एकता दिवस मगर बाहुल सबैका घर, गाउँटोलसम्म खुसीका साथ मनाएका छन्,' बगनासकाली गाउँपालिका यम्घाका विष्णु गाहाले भने, 'मगर एकता दिवसमा मगर समुदायका लागि महत्वपूर्ण दिन हो । रमाउने, खुसियाली साटासाट गर्ने दिनका रूपमा मनाउने गरिएको छ।' 

यहाँ बगनासकालीको चिलाङ्दीमा विविध सांस्कृतिक कार्यक्रम भएका छन्।

त्यसैगरी रामपुरमा एकीकृत मगर उत्थान समाजले १७औं वार्षिक उत्सवसँगै विशेष कार्यक्रम सम्पन्न गरेको छ। रम्भा गाउँपालिकाको नाँचनडाँडामा विविध सांस्कृतिक कार्यक्रम गरियो।

यहाँका १० वटै स्थानीय विविध कार्यक्रम आयोजना भए। दिवस मनाउन पाल्पाका १० वटै स्थानीय तहले बिदा दिएका थिए ।

सार्वजनिक बिदाका कारण पालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शैक्षिक संस्था बन्द रहे । मगर दिवस विशेष कार्यक्रममा मगर संस्कृतिमा आधारित कौरा, मारुनी, झ्याउरे तथा सालैजोलगायतका सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ। पछिल्लो जनगणना अनुसार पाल्पामा ५४ प्रतिशतभन्दा धेरै मगरको बसोबास रहेको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ।

यो कुल जनसङ्ख्याको ६.९ प्रतिशत हो । २०३९ साल फागनु १५ गते नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रुपमा मनाउन सुरु गरेका हुन्।

प्रकाशित मिति: १९:४५ बजे, बिहीबार, फागुन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्