सुक्खा पहिरोले किचेर एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक, फागुन १५ : सुक्खा पहिरो जाँदा यहाँको नमोबुद्ध नगरपालिका–१ कानाकोटमा आज एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ।
वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो आई भवनको दोस्रो तलाको पिल्लर ढलेर किच्दा पर्साको सखुवापर्सेनी गाउँपालिका–३ स्थायी ठेगाना भएका ३८ वर्षीय दुर्जन माझीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुक्खा पहिराले पिलर ढल्दा रडले टाउकोमा लागी घटनास्थलमै माझीको मृत्यु भएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हराएको पाँच महिनामा कङ्काल फेला यसैबीच हराएको करिब पाँच महिनापछि मण्डनदेउपुर नपा–११ को ३८ वर्षीया निशा लामाको कङ्काल पाँचखाल नपा–३ स्थित जङ्गलमा भेटिएको छ।
लामाको हत्या अभियोगमा प्रहरीले आज धुलिखेल नपा–६ का ३६ वर्षीय सुनिल रञ्जितकारलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । लामा गत असोज १५ गतेदेखि हराएका थिए।
सोही दिन लामा औषधि खरिदका लागि घरबाट तामाघाट जान्छु भनेर हिँडेको र घर नफर्केपछि उनका श्रीमान राइफल लामाले प्रहरीमा खोजविनका लागि निवेदन दिनुभएको थियो । निशाको कङ्काल बुधबार दिउँसो २ बजे पाँचखालको काफ्लेडिही नजिकको जङ्गलमा फेला परेको थियो।
निशाको कङ्कालसँगै ब्याग, चप्पल र व्यागभित्र निशा लामा लेखिएको बिल फेला परेका कारण उक्त कङ्काल श्रीमती निशाकै भएको भनी लामाले सनाखत गर्नुभएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए।
उनका अनुसार निशाका श्रीमान् लामाले रन्जितकार विरुद्ध आज जाहेरीसमेत दर्ता गरेका छन्।
प्रहरीका अनुसार जाहेरीमा पक्राउ परेका सुनिल रञ्जितकारले निशालाई काभ्रेपलाञ्चोककै बनेपामा भेटी ललाइफकाइ गरी झुक्याएर काफ्लेडिहीको जङ्गलमा लगेको र हत्या गरेको आरोप छ।
रञ्जितकारले भने निशाले आफूलाई ‘जबरजस्तीकरणीको अभियोग’ मा फसाइदिन्छु भनेकाले आवेशमा आएर धारिलो हतियार र ढुङ्गाले टाउको तथा संवेदनशिल अङ्गमा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ।
निशाका दुई छोरा र एक छोरी छन् । यसैगरी भुम्लु गाउँपालिका–१ सापिङमा ३५ वर्षीय श्रीकृष्ण गिरी आज मृत फेला परेका छन् । घरदेखि अन्दाजी डेढ किलोमिटर पश्चिमतर्फ आङ्गे खोल्सास्थित भीरबाट करिब ३५ मिटर तल मृत भेटिएको प्रहरीले जनाएको छ।
गिरीको टाउको र शरिरमा चोटपटक देखिएकाले घटनाको अनुसन्धान भइरहेको प्रहरी निरिक्षक कुँवरले बताए।












