सिर्जनशीलमा वर्षाको ‘अभ्यन्तर’ कथासंग्रहको परिचर्चा
वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वर्षाद्वारा लिखित कथा ‘अभ्यन्तर’ माथि परिचर्चा गरिएको थियो।
पोखरा, फागुन १५ : सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखरामा नियमित मासिक कार्यक्रम अन्तर्गत कथाकार सुमन वर्षाद्वारा लिखित कथा ‘अभ्यन्तर’ माथि परिचर्चा गरिएको छ।
वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वर्षाद्वारा लिखित कथा ‘अभ्यन्तर’ माथि परिचर्चा गरिएको थियो।
उक्त कार्यक्रममा कथासङ्ग्रहको स्वरपक्षमाथि बोल्दै डा.सविन्द्रराज भण्डारीले सङ्ग्रहका प्रत्येक कथा विषयगत नवीनताका दृष्टिले उत्कृष्ट रहेका बताए। कथाले सामाजिक विकृति विसङ्गतिको यथार्थ प्रस्तुति गर्नुका साथै स्वैरकल्पनाका माध्यमबाट सुदूर नेपाली समाजको चित्रण गरेको उनको तर्क थियो।
अर्का परिचर्चाकार डा.भूमिराज बस्ताकोटीले कथासङ्ग्रहको शिल्पपक्षमाथि चर्चा गरेका थिए। कृतिमा केही नवीन र अधिकांशतः पुरानै शैलीगत ढाँचाको प्रयोग भए पनि केही कथामा बुनोट सिप र प्राञ्जल भाषाको प्रयोगले निकै प्रभावकारी देखिएको डा.बस्ताकोटीको भनाइ थियो।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले स्रष्टा जहिले पनि कुनै न कुनै भ्रमका बिचमा बाँच्ने र भ्रमकै बिचबाट उत्कृष्ट साहित्य सिर्जना गर्ने बताए। नेपाली साहित्यमा विज्ञान कथाको इतिहास लामो भए पनि इतिहास लेखनका दृष्टिले खासै काम हुन नसकेको भनाइ उनको थियो। विज्ञानप्रविधि जस्ता विषयलाई आधार बनाएर ‘क्लोन’ जस्ता कथा लेखेकोमा उनले कथाकारप्रति खुसी व्यक्त गरेका थिए।
प्रतिष्ठानका पूर्व अध्यक्ष दीपेन्द्र पराजुलीले कथासङ्ग्रहमाथि सारसंक्षेपमा टिप्पणी गरेका थिए भने त्रिविका सिनेटर कमलराज सापकोटाले शुभकामना मन्तव्य राखेका थिए। कथाकार वर्षाले कृति प्रकाशित भइसकेपछि त्यो लेखकको नभई पाठकको हुने र त्यसलाई विभिन्न आधारमा विश्लेषण गर्न सकिने विचार राखेकी थिइन्। साहित्यकार एवम् साहित्यानुरागीको जमघटविच हालै सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष सुरज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव डा.पिताम्बर पौडेलले गरेका थिए।
प्रतिष्ठानका उपाध्यक्ष डा.श्रीधर न्यौपानेले स्वागत मन्तव्य राखेका थिए। उक्त अवसरमा संस्थाकी आजीवन सदस्य इन्दु सुवेदी पौडेलले रचना वाचन गरेकी थिइन्।
कार्यक्रममा संस्थाका संस्थापक, आजीवन एवं साधारण सदस्यहरू, अन्य संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुक महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमलाई सफल बनाउन रोबस्ट एजुकेसन कन्सल्टेन्सी र पोखरा आदर्श माध्यमिक विद्यालयले सहयोग गरेका थिए।